युद्धविरामपछि भारत र पाकिस्तानबीच कूटनीतिक ‘वार’

काठमाडौं (एजेन्सी) । जम्मू–कश्मीरको पहलगाममा भएको हमलापछि बढेको तनावका बीच भारत र पाकिस्तानले एकअर्काविरुद्ध कडा कदम चाले । मे ७ मा भारतले पाकिस्तानका विभिन्न ७ स्थानमा हमला गरेपछि पाकिस्तानले पनि जवाफ फर्कायो । दक्षिण एसियाका छिमेकी मुलुक युद्धमा होमिने चिन्ता विश्वभर बढिरहेका बेला मे १० मा युद्धविराम गर्ने सहमति बन्यो । यसले दुई देशबीचको तिक्त सम्बन्ध सङ्लिने अपेक्षा राखिएकोमा कूटनीतिक वार सुरु भएको छ । दुवै देशले एकअर्काका कूटनीतिक कर्मचारीलाई अवाञ्छित घोषणा गरेका छन्।
नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका एक कर्मचारीलाई अवाञ्छित घोषणा गर्दै भारतले कूटनीतिक वारको फायर खोलेको छ । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ती अधिकारीलाई २४ घण्टाभित्र देश छाड्न भनिएको छ ।
यसको जवाफमा पाकिस्तानले पनि भारतीय कूटनीतिक अधिकारीलाई अवाञ्छित घोषणा गर्दै देश छाड्न निर्देशन दिएको छ ।
दुवै देशले एकअर्काका कूटनीतिक कर्मचारीलाई अवाञ्छिित घोषणा गरेपछि दुई पक्षबीचको सम्बन्ध थप चिसिएको छ। पहलगाम हमलापछि उत्पन्न परिस्थितिलाई सहज बनाउने प्रयास भइरहेका बेला यी कदमले थप जटिलता थपेका छन्।
प्रतिक्रिया