अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन् ।
स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए । उनले भने, “पहिलो वर्ष त बजेट थिएन होला भनेर चित्त बुझायौँ, अब दोस्रो वर्ष पनि नबन्दा चाहिँ चिन्ता लागेको छ ।”
हिउँदमा सवारी आवागमन हुने उक्त पुल बर्खामा बन्द हुने गरेको छ । पुलको छत भासिएर खोलामा पुगेको कारण अब सो स्थानमा नयाँ पक्की पुल बनाउनु पर्ने स्थानीयवासीको माग छ । बर्खाको बाढी पुलमाथिबाट बग्ने गरेको छ ।
अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी हेमराज सेढाईले पुल निर्माणमा बजेट व्यवस्थापनका लागि पालिकाले सङ्घीय सरकारसँग अनुरोध गरेको बताए ।
“सभामुख देवराज घिमिरे र भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले चासो देखाउनुभएको छ,” उनले भने, “उनीहरूले पुलको अवस्था हेर्नु भएको पनि छ र आगामी वर्षको बजेटमा पुल पर्ने आशा गरेका छौं ।”
नगरपालिकासँग नयाँ पुल निर्माण गर्न पुग्ने बजेट नभएको जनाउँदै उनले सङ्घीय सरकारकै बाटो कुर्नु बाध्यता भएको बताए । पुल भासिएर काम नलाग्ने भइसकेको कारण मर्मतसम्भारबाट काम नचल्ने उनको भनाइ छ।
विसंं २०६५ सालमा भारत सरकारको रु दुई करोडको सहयोगमा उक्त पुल निर्माण गरिएको थियो । पुल निर्माणसँगै सो सडकमा लामो दूरीका यातायातसमेत चल्न थालेका थिए ।
सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी विपीन ढुङ्गानाले चालु आर्थिक वर्षको कार्ययोजनामा सो पुल नपरेको बताए ।
ताजा अपडेट
-
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुन : काठमाडौँमा आकस्मिक अवतरण
-
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
प्रतिक्रिया