देशमा नकारात्मक सोच हाबी भयो, यसरी देश बन्दैन : आरजु राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छन् ।
नेपाली जनसम्पर्क समिति, जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहमा उनले केही पनि हुँदैन र सम्भव पनि छैन भन्नेजस्ता नकारात्मक धारणा बनाउने र त्यसैलाई प्रचार गर्ने गरिएको प्रसङ्ग उल्लेख गर्दै यस्तो सोचले समाज र देशको विकास नहुने प्रष्ट पारिन् ।
उनले यस्तो सोच देशभित्रका राजनीतिक पार्टी, नेपाली समाज र विदेशमा बस्ने नेपालीहरूमा समेत रहेकाले यसलाई त्यागेर देश निर्माणका लागि सकारात्मक वातावरण निर्माण गर्न जोड दिइन् ।
उनले भनिन्, “कुनै कुराको पनि राम्रो प्रस्तुति या अभिव्यक्ति देख्दिनँ । समाजमा, देशमा राम्रा काम पनि त भएका छन् नि । तर तिनलाई राम्रो भनेको कतै सुनिँदैन । सबैलाई मिडियामा भाइरल नै हुनुपर्ने जस्तो छ, नराम्रो प्रचार गरेपछि चर्चामा आइन्छ भन्ने मात्र सबैको सोच देख्छु, यसरी देश बन्दैन ।”
मन्त्री डा. राणाले गैरआवासीय नेपालीहरूलाई पनि एकताबद्ध भएर सकारात्मक सोचका साथ लाग्न आग्रह गरिन् । उनले भनिन्, “संसारमा रहेका नेपाली डायस्पोरासँग धेरै ठूलो शक्ति छ । तपाईँहरू एकताबद्ध हुनुभयो भने आफ्ना अधिकारका लागि लड्न ठूलो तागत मिल्ने छ । त्यसैले मेरो आग्रह छ, सानातिना कुरामा नअल्झिनुहोस्, एउटै एनआरएनए बनाउन लाग्नुहोस् ।”
मन्त्री डा. राणाले सर्वोच्च अदालतको परमादेशको पालना गरेर नै सरकारले हालै मात्र एनआरएनएको महाधिवेशन सम्पन्न गर्न सहजीकरण गरेको र त्यसमा सहमतिबाट नै नयाँ कार्यसमिति बनेको पनि स्पष्ट गरिन् । मन्त्री डा राणाले विदेशमा आर्जन गरेको सीप, ज्ञान र पुँजीलाई नेपालको विकासमा लगाउन संसारमा रहेका नेपालीहरूलाई आग्रह पनि गरिन् ।
आफू परराष्ट्रमन्त्री भएपछि विश्वमा रहेका नेपाली डायस्पोरालाई कन्सुलर तथा परराष्ट्रसँग सम्बन्धित अन्य आवश्यक सेवा पुगोस् भनेर नै मन्त्रालयमा यससम्बन्धी अलग्गै महाशाखा स्थापना गरी काम अघि बढाएको जानकारी दिँदै उनले यसका लागि सबै नेपालीको सहयोग आवश्यक रहेको पनि बताइन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया