NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

हात्तीको त्रासः घर भत्कियो, अन्न सखाप

कञ्चनपुर- कृष्णपुर नगरपालिका–१ दोमिल्ला, साउन २ गतेको मध्यरात । रातको करिब १ः०० बजेको थियो । मन्सरादेवी साउद छोरासँग कच्ची घरको भित्री कोठामा निदाएकी थिइन् । अचानक भित्तो हल्लियो । उनलाई ठूलो जनावरले पर्खालमै हिर्काएजस्तो भयो ।

“पहिलोपल्ट त भूकम्प हो कि भनेर डराएँ”, मन्सराले सम्झिइन्, “बाहिर निस्किएँ, आँगनमा अँध्यारो थियो, तर छायाँजस्तो देखेँ– हात्तीको विशाल शरीर । एक सेकेन्ड पनि सोच्न सकिनँ, छोरालाई तानेर छिमेकीकहाँ भागेँ । धन्न भगवान्ले आमाछोराको ज्यानै जोगाए, हात्तीले तोडेको भित्तो (पर्खाल) नजिकै सुतेका थियौँ बाँच्यौँ, त्यसबेला केही सोचिन छोरा र आफ्नो ज्यान जोगिए हुन्थ्यो भनेर भगवान्सँग प्रार्थना गर्दै निस्किएँ”, उनी भन्छन् ।

हात्तीको बथानले घरको भित्ता भत्काएर भित्र राखिएको सबै अन्नपात खाएको साउदले बताए । बचेको सबै खुट्टाले कुल्चेर कामै नलाग्ने बनाइदिएको उहाँ बताउनुहुन्छ । “त्यो रात मेरा लागि कहिल्यै नबिर्सिने भयो”, साउद भन्छन् ।

छिमेकी देवकी भट्ट भन्छिन्, “अझ अचम्म त के भयो भने हात्तीले मन्सराको घरमात्र भत्कायो, वरिपरिका घरमा केही गरेन, गएको वर्ष पनि मन्सारकै खेतको धान हात्तीको बथानले खाएर सखाप पार्यो, अरुको धानमा खुट्टासमेत हालेन ।”

अहिले छिमेकीले मन्सारको भत्केको घरको भित्तो लिपपोत गरिदिएका छन् । “केही दिनअघि मनि साउदको घर हात्तीले भत्काएको थियो”, उनले भनिन्, “हात्ती अब बस्तीका स्थायी पाहुना भएजस्ता छन्, जुनसुकै बेला पनि आइपुग्छन्, राति घरभित्र सुत्नै डर लाग्छ ।”

“सडकबत्ती छैन, सावधानीका उपाय छैनन्”, गौरी साउदले भनिन्, “बत्ती भए हात्ती बस्तीमा पसेको टाढैबाट देखिन्थ्यो, अँध्यारोमा हात्ती आएको थाहा हुँदैन, जब घर भत्काउन सुरु गर्छन् तबमात्र थाहा हुन्छ, त्यसबेला ज्यान जोगाउनकै चिन्ता हुन्छ ।”

हात्तीले न खाद्यान्न छोड्छ, न घर । ऐश्वर्या सामुदायिक वनको सीमावर्ती बस्ती हात्तीको नियमित मार्ग बनेको छ । सो वनका अध्यक्ष ईश्वर बुढा भन्छन्, “हात्तीले खानेपानीको पाइप तानेर तोडेपछि ४० परिवार पिउने पानीबाट वञ्चित भएका छन्, मानवीय संकट निम्तिएको छ ।”

हात्ती आतंक रोक्न मेसवायर, पर्खाल वा चेतावनी प्रणालीको आवश्यकता देखिएको छ । स्थानीयलाई रातभर आगो बालेर हात्ती भगाउनुपर्ने बाध्यता छ ।