NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

यस वर्षको ‘भेगन फेस्टिबल’ शनिबार हुँदै, ९० भन्दा बढी स्टल राखिने

काठमाडौं । स्नेहाज केयरले यस वर्षको ‘भेगन फेस्टिबल’ यही श्रावण १० गते शनिबार आयोजना गर्ने भएको छ ।

संस्थाले पाँचौं भेगन फेस्टिबल बौद्धस्थित उत्पला क्याफेमा मनाउन लागेको हो । विरुवामा आधारित आहार र जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्धेश्यले सन् २०१८ देखि स्नेहाज केयरले भेगन फेस्टिबलको आयोजना गर्दै आइरहेको छ ।

महोत्सवमा वनस्पतिमा आधारित खानाको परिकार, दिगो विकास र वातावरणमैत्री सामाग्रीको प्रदर्शन र विक्री वितरण गरिने हुँदा भिगन सामाग्रीहरुको विक्रेताहरुले स्टल राख्न मिल्ने व्यवस्था गरिएको संस्थाकी संस्थापक अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी दिइन् ।  पशुु क्रुरता विरुद्ध बिरुवामा आधारित खानपान र जीवनशैली व्यक्तिको स्वास्थ्यका लागि फाइदाजनक हुुनुका साथै यसले पशु कल्याणमा पनि टेवा पुग्ने संस्थापक श्रेष्ठले बताइन् ।

महोत्सवमा विभिन्न भेगन रेस्टुरेन्टहरु, भेगन परिकार उत्पादकहरु, विभिन्न आकर्षक गरगहनाहरु, अर्गानिक कृषि उपजहरु तथा ह्यान्डिक्राफ्ट, पशु कल्याण संस्थाहरु, योग तथा दर्शन लगायतका साग्रीहरु गरी ९० भन्दा धेरै स्टलहरु राखिने छन् भने महोत्सव भव्य र मनोरञ्जनात्मक बनाउन लाइभ म्यूजिक, नृत्य प्रस्तुति, बालबालिकाहरुका निम्ति विभिन्न विधामा गरिएको प्रतिस्पर्धाकोे पुरस्कार वितरण लगायतका  कार्यक्रमको समेत योजना रहेको बताइएको छ ।

स्नेहाज केयरले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो ।  कार्यक्रमको प्रमुख आतिथि ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन रहेका छन् ।

पशु कल्याण सम्बन्धी काम गर्ने उद्देश्यले स्थापना भएकाे स्नेहाज केयरले विगत १० वर्षदेखि पशु कल्याणका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको छ । पशु कल्याण अभियानको महत्वपूर्ण कार्यक्रमको रुपमा संस्थाले सन् २०१७ देखि विरुवामा आधारित आहारको उपभोगलाई बढावा दिने कार्यक्रमहरू समेत सञ्चालन गरिरहेकाे छ । यस कार्यक्रम अन्तर्गत विद्यालयहरूमा विरुवामा आधारित आहार र पशु कल्याण तथा मानवता सम्बन्धी कक्षा संचालन गर्ने, विद्यालयका क्यान्टिनका कुकहरूलाई भिगन परिकार सम्बन्धी तालिम संचालन, समुदाय स्तरमा महिलाहरुलाई विरुवामा आधारित आहार सम्बन्धि गोष्ठी तथा तालिम संचालन गर्ने, स्थानीय रैथाने भेज खानाको परिकारका बारेमा फुड भ्लग्स र सामाजिक सञ्जालको माध्यमबाट प्रचार प्रसार गर्ने र वार्षिक भेज फेस्ट आयोजना गर्दै आएको छ ।