NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

तमोर नदीको बाढीले पाँच करोडको बेलिब्रिज बगायो

ताप्लेजुङ । तमोर नदीको बाढीले पाँच करोड लागतमा निर्मित बेलिब्रिज बगाएको छ। गए रातिको वर्षापछि आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ र ६ जोड्ने तमोर नदीमाथि बेलिब्रिज बगाएको हो।

ठाडो खोला मानिने हेल्लोक र सिम्बुवाखोलामा आएको बाढी तमोर नदीमा मिसिदा तमोर नदी माथि रानीपुल भन्ने स्थानमा रहेको बेलिब्रिज बगाएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिए । उनका अनुसार रानीपुल भन्दा माथिको सबै क्षेत्रमा आवत–जावत अवरुद्ध भएको छ । चार बर्षअघि रेमिट हाइड्रोले करिब ५ करोडको लागतमा बेलिब्रिज बनाएको थियो ।

बेलिब्रिज निर्माण भएपछि फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक र वडा नं ६ लेलेप हुँदै सो भन्दा माथि ओलाङचुङगोला,घुन्सा सहितका क्षेत्रमा आवतजावत सहज भएको थियो । यसैगरी वडा नं ६ लेलेपको साँघु बगर क्षेत्रमा फाङवारी स्कुलको छेउबाट पहिरो गएको समेत पालिका अध्यक्ष लिम्बूले जानकारी दिएका छन्।

पालिका अध्यक्ष लिम्बूले अहिलेसम्म कुनै मानवीय क्षति भएको जानकारी आफूहरूलाई नआएको समेत बताएका छन्। स्थानीयले पालिकाको वडा नं ५ सोत्लिमा क्षेत्रमा केही घर पहिरोले पुरेको आशंका गरेका छन्।

तर जोखिम क्षेत्रका मानिसहरू पहिरोको जोखिम देख्ने बित्तिकै सुरक्षित स्थानमा सरेकोले पहिरोका कारण मानवीय क्षति नभएको स्थानीयको दाबी रहेको छ । फक्ताङलुङ गाउँपालिकाले तमोर खोलामा पानीको सतह बढेकोले खोला तथा नदीको किनारमा रहेका बस्तीका बासिन्दालाई सावधानी अपनाउन आग्रह समेत गरेको छ ।