NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

कामपाको ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’बाट उत्पादित सामग्रीको बजारीकरणमा समस्या

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’अन्तर्गत उत्पादित सामग्रीको बजारीकरणमा समस्या देखिएको छ ।

उक्त कार्यक्रमअन्तर्गत वडाहरूबाट उत्पादन भएका वस्तु तथा सामग्री नयाँ बानेश्वरको एनबी सेन्टरमा प्रदर्शनी तथा बिक्री सुरु गरे पनि उक्त स्थानले मात्र अपुग भएको भन्दै अन्यत्र पनि बजारीकरणका लागि स्थान पहिचानको आवश्यकता माग गरिएको छ ।

 

कामपा वडा नम्बर ११ का महिला वडा सदस्य आशा श्रेष्ठले वडाले वडाहरूमा सामग्री उत्पादन राम्रोसँग भइरहेको भन्दै उत्पादित सामग्री बेच्नका लागि पर्याप्त स्थान नहुँदा थन्क्याएर राख्नुपरेको बताइन् । विभिन्न किसिमका सामग्री उत्पादन गर्नका लागि तालिम प्रशस्त भए पनि उत्पादन भएका सामग्रीलाई सहज बजारीकरणको व्यवस्था नभएको वडा २७ का दलित महिला सदस्य प्रभा परियारको भनाइ छ ।

कामपाको उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ । हाल कामपाको वडा नं १ र ३० को नमूना उद्यम गुन्द्रुक र मस्यौरा हो । वडा नं २ को मस्यौरा र तितौरा, वडा नं ५ को सेरामिक्सका सामान बनाउने, वडा नं ७ को क्रिष्टल तथा पोतेको गहना बनाउने उद्यम नमूना उद्यमका रूपमा छनोट भएको छ ।

वडा नं ८ को दुना टपरी र रुद्राक्षको ढक्की बनाउने, वडा नं ९ को रुद्राक्षको माला र धूप बनाउने, वडा नं १० को मस्यौरा र विभिन्न अचार बनाउने, वडा नं १२ को सुकुल बनाउने, वडा नं १६ को काष्ठकला, वडा नं २१ को कटाँकी मूर्ति कुँद्ने, वडा नं २२ को जुत्ता बनाउने, वडा नं २४ को ब्याग बनाउने र वडा नं ३२ को अचार बनाउने उद्यमलाई नमूनाका रूपमा छानिएको छ ।

गत आर्थिक वर्षमा थालिएका ११ वटा वडाहरू वडा नं ११, १५, १८, १९, २०, २३, २५, २७, २८, २९ र ३१ हुन् । यी वडामा क्रमशः ऊनका सामग्री तयार गर्ने, हाकुपटासी उत्पादन गर्ने, मिठाइका परिकार उत्पादन गर्ने, नेवारी वेशभूषा तयार गर्ने, सचिका धागो, सुर्के थैली र रिबनका फूल बनाउने, ढाकाका कपडा सिलाउने, माटोबाट मखुण्डो तयार गर्ने, बेबीसेट र गाउन सिलाउने, यमरीसहित खाद्यवस्तु उत्पादन उद्यम सञ्चालन गरिएको छ ।