NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

‘काँग्रेसमा युवालाई आबद्ध गराए लोकतन्त्र बलियो हुन्छ’- शेखर कोइराला

विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली काँग्रेसमा युवाहरूलाई आबद्ध गराए लोकतन्त्र बलियो हुने बताएका छन्।

नेपाली काँग्रेस विराटनगर-४ वडा समितिले आज आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहमा उनले लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसप्रति युवाको आकर्षण बढाउन सुझाव दिए। प्रतिनिधि सभाका सदस्यसमेत रहेका नेता डा. कोइरालाले ‘लोकतन्त्रको पर्यायवाची नै काँग्रेस भएकाले लोकतन्त्र कमजोर भएमा लोकतन्त्र र देश कमजोर हुने धारणा राखे ।

उनले भने, “लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि काँग्रेसको भूमिकाबारे युवामा जनचेतना जागृत गराउनु आजको आवश्यकता हो ।”, नेता डा. कोइरालाले जीवन्त र लोकतान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनुपर्ने बताउँदै अन्य पार्टीहरूसँगको प्रतिस्पर्धामा काँग्रेस एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए ।

राजनीतिक दलको नेता भएपछि अन्य दलका नेताहरूसँग भेटघाट गर्नु सामान्य भएअनुसार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूसित आफूले भेटघाट एवं छलफल गरेको बताए ।

सो अवसरमा ७२ वर्ष उमेर पार गरेका ज्येष्ठ क्रियाशील सदस्यहरू सुरेश तिम्सिना, सीयाराम मण्डल राजवंशी, तेतरी राजवंशी, कृष्णमोहन कार्की, मणिराज निरौला, दुखाराम गच्छदार, नखबहादुर खड्का, साजीलाल माझी, थिरबहादुर नेपाली र हेमनारायण चौधरीलाई सम्मान गरिएको थियो ।