NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

काठमाडौँ। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो ।

ईपीएसमार्फत कोरियामा नेपाली कामदार पठाउने प्रयोजनका लागि प्रथम चरणको भाषा परीक्षाका लागि आवेदन खुला गरिएको हो । एचआरडी कोरियाले उत्पादनमूलक तथा कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन माग गरेको हो ।

उक्त क्षेत्रको भाषा परीक्षामा पाँच हजार ३०० कोटा तोकिएको छ । जसमा तीन हजार ५०० उत्पादनमूलक क्षेत्र, एक हजार ८०० कृष तथा पशुपालन क्षेत्रको कोटा रहेको छ ।

एक व्यक्तिले एक वटा क्षेत्रमा मात्र फारम भर्न पाउनेछ । भाषा परीक्षाको उत्तीर्ण परीक्षार्थीहरूले मात्र दोस्रो चरणको स्किल टेष्ट र कम्पिटेन्सी टेष्टमा सहभागी भएर उत्तीर्ण भएपछि मात्रै रोजगार आवेदन फारम भर्ना पाउनेछन् ।

१८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । त्यस्तै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैह्र कानूनी रूपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको हुनुपर्ने योग्यता रहेका छन् ।

आवेदन साउन २६ गतेदेखि ३१ गतेसम्म दिन सकिनेछ । परीक्षा भने काठमाडौँमा हुनेछ ।