संस्कार, संस्कृतिको संरक्षणमा जुट्दै भोजपुरका ‘नेवार समुदाय’
भोजपुर । भोजपुरका नेवार समुदाय परम्परागत लाखे जात्रासँगै संस्कार, संस्कृतिको संरक्षणमा जुटेका छन् । पछिल्लो समय स्थानीय कला, संस्कार, संस्कृति तथा मौलिक परम्परा लोप हुने खतरा बढेसँगै उनीहरू परम्पराको संरक्षणमा जुटेका हुन् ।
नेवार समुदायको संस्कृतिका रूपमा मादल, झ्याली र ढोलक बजाउँदै नाचिने ठाकठुके नाच सिकाउँदै परम्परागत रीतिरिवाजलाई नयाँ पुस्तासम्म पुर्याउने काम भइरहेको स्थानीयवासी चन्द्रप्रसाद श्रेष्ठले बताए । नेवार समुदायमा लाखेजात्रा, गाईजात्रा, बुबाआमाको मुख हेर्ने दिन, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथा:, तिहार, म्ह:पूजा, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने चलन रहेको उनले बताए ।
यस्ता जात्रालाई स्थानीय समाजमा सामूहिकता, एकता र सांस्कृतिक संरक्षणको प्रतीकका रूपमा लिइने स्थानीयको भनाइ छ । स्थानीय कला, संस्कार, संस्कृति तथा रहनसहनको संरक्षणमा जुटेको स्थानीयवासी कमल प्रधानले बताए ।
“हाम्रो परम्परागत संस्कार, संस्कृतिको संरक्षणमा जुटेका छौँ”, उनले भने, “कतिपय प्रचलन लोप हुने अवस्थामा पुगेकाले हामी युवाहरू संस्कृतिको संरक्षणमा जुटेका हौँ ।” नागपञ्चमीका दिन भीमसेन मन्दिरमा पूजा गरी सुरु भएको लाखे नाच हरेक दिन प्रदर्शन गरेर कृष्ण जन्माष्टमीको भोलिपल्ट विधिवत् रूपमा अन्त्य हुने उनको भनाइ छ ।
आधुनिकताको विकाससँगै यो संस्कृतिको मौलिकता हराउने अवस्था आएकाले नयाँ पुस्तासम्म पुर्याउन संरक्षणमा जोड दिएको नेवा: देय दवू भोजपुरका अध्यक्ष बद्री श्रेष्ठले बताए । यस्ता मौलिक परम्पराको संरक्षण गर्न जिल्लाको विभिन्न ठाउँमा कार्यक्रम हुने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
नेवार समुदायको बाहुल्यता रहेको भोजपुर सदरमुकाम, टक्सार, दावाँ बजार, दिङला बजारलगायत स्थानमा नागपञ्चमीदेखि लाखे नाचको सुरुआत गरिएको छ । नेवार समुदायको लाखे नाचका क्रममा स्थानीय वेशभूषा, रहनसहनको प्रदर्शनीसँगै गाईजात्रा, घोडेजात्रा, वैरागी जात्रा, रोपाइँ जात्रालगायतका माध्यमबाट समाजका विकृति, विसङ्गतिप्रति व्यङ्ग्य गर्दै सर्वसाधारणलाई मनोरञ्जन दिने चलन रहेको छ ।
ताजा अपडेट
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने


प्रतिक्रिया