टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्प, एक जनाको मृत्यु
काठमाडौँ। टर्कीको उत्तर-पश्चिम प्रान्त बालिकेसिरमा आइतबार साँझ आएको ६.१ म्याग्निच्युडको भूकम्पमा एक जनाको मात्रै मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भूकम्पको केन्द्रबिन्दु सिन्डिर्गी सहरमा एक ८१ वर्षीया महिलाको मृत्यु भएको हो । भग्नावशेषबाट बाहिर निकालेलगत्तै उनको ज्यान गएको बीबीसीले जनाएको छ ।
सरकारी तथ्यांक अनुसार भूकम्पका कारण १६ वटा भवन भत्किएका छन् र २९ जना घाइते भएका छन् ।
टर्कीको विपद् व्यवस्थापन कार्यालयका अनुसार यो भूकम्प स्थानीय समयअनुसार करिब आइतबार साँझ ७ बजेर ५३ मिनेटमा आएको थियो । त्यसको धक्का राजधानी इस्तानबुलसम्म महसुस भएको थियो । भूकम्प पछि दर्जनौंपटक परकम्पले धर्ती हल्लिएको थियो ।
राष्ट्रपति रेचेप तैयप एर्दोआनले एक विज्ञप्ति जारी गर्दै मृतक परिवारमा समवेदना र भूकम्पबाट घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै उद्धार तथा पुनर्स्थापना कार्यलाई तीव्रता दिइएको बताएका छन् । ‘ईश्वरले हाम्रो देशलाई कुनै पनि प्रकारको विपत्तिबाट जोगाउनून्,’ उनले ‘एक्स’मा लेखेका छन् ।
गृहमन्त्री अली येरलिकायाले हाल खोज तथा उद्धार कार्य सकिएको बताएका छन् । उनका अनुसार ठूलो क्षति वा मानवीय हानीको संकेत भेटिएको छैन ।
तर, भूकम्पको केन्द्रबिन्दु सिन्डिर्गीका तस्बिरहरूमा ठूला भवनहरू पूर्णरूपमा ढलेका र फलामका बीमसहितको भग्नावशेष थुप्रिएको देखिन्छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया