आठ दिनको उपचारपछि सानो खैरो गिद्धले पायो नयाँ जीवन, शुक्लाफाँटा निकुञ्जमा छाडियो
कञ्चनपुर- गम्भीर बिरामी अवस्थामा फेला परेको एक सानो खैरो गिद्धलाई आठ दिनसम्मको उपचारपछि सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा सुरक्षित रूपमा छाडिएको छ।
कैलालीको लम्कीचुहास्थित लालीगुराँस सामुदायिक वनमा साउन १९ गते बिरामी अवस्थामा भेटिएको उक्त गिद्धको उद्धार गरी उपचार गरिएको थियो। सबडिभिजन वन कार्यालय पहलवानपुरका वन अधिकृत शेरबहादुर भण्डारीका अनुसार, गिद्धको अवस्था निकै नाजुक थियो, तर उपचार र स्याहारसुसारपछि यो तन्दुरुस्त भयो। गिद्धलाई निकुञ्जमा लगेर छाड्दा यसले पखेटा फिँजाएर आकाशमा उडेको दृश्य निकै मनमोहक रहेको उनले बताए।
जटायु रेष्टुराँबाट लम्कीसम्मको यात्रा:
नेपाल पन्छी संरक्षण सङ्घ (बीसीएन)का चरा विज्ञ हिरुलाल डगौराका अनुसार, यो गिद्ध पूर्वी नवलपरासीको जटायु रेष्टुराँबाट उडेको थियो। यसले भारतका विभिन्न बस्तीहरू हुँदै कैलालीको लम्कीसम्मको लामो यात्रा गरेको पाइएको छ।
वर्षायाममा झुण्डबाट छुट्टिएर पर्याप्त पानी र आहारा नपाउँदा रगतको कमीले गर्दा गिद्ध बिरामी परेको हुनसक्ने डगौराले बताए। गिद्धको खुट्टामा जडान गरिएको स्याटेलाइट ट्याग ‘जे १६’ मार्फत यसको यात्राको जानकारी प्राप्त भएको हो।
नेपाल पक्षी संरक्षण सङ्घ र सबडिभिजन वन कार्यालयको संयुक्त टोलीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा गिद्धलाई सुरक्षित रूपमा छाडेको थियो। गिद्धमा जडान गरिएको रेडियो कलरको सहायताले यसको अवस्थाबारे निरन्तर अनुगमन गरिनेछ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन)ले यो प्रजातिको गिद्धलाई ‘अतिसङ्कटापन्न’ सूचीमा राखेको छ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया