NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

मेडिकल कलेजको शुल्क र सिट बढाए आन्दोलन गर्ने डा. केसीको चेतावनी

काठमाडौं । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले मेडिकल कलेजको भर्ना सिट र शुल्क बढाउने सरकारी तयारी तत्काल रोकिनु पर्ने चेतावनी दिएका छन् । उनले सरकार र चिकित्सा शिक्षा आयोगलाई सिट र शुल्क यथावत राख्न आग्रह गर्दै, माग पूरा नभए सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने चेतावनी दिएका हुन् ।

डा. केसीका अनुसार गुणस्तरीय स्वास्थ्य सेवा पाउनु सबै नेपालीको प्राकृतिक अधिकार भए पनि नेताहरू, माफिया र पैसावालहरूको स्वार्थका कारण यो अधिकारबाट आमजनता बञ्चित भइरहेका छन् । ‘गुणस्तरीय स्वास्थ्य सेवाको आधार गुणस्तरीय चिकित्सा शिक्षा हो,’ उनले भने, ‘विद्यार्थी संख्या वृद्धि गर्दा गुणस्तर घट्छ, बढ्दैन ।’

उनले विगत दुई दशकदेखि ग्रामीण भेगमा सरकारी मेडिकल कलेज स्थापना, निःशुल्क तथा सस्तो स्वास्थ्य सेवा र शिक्षा पहुँच सुनिश्चित गर्न संघर्ष हुँदै आएको उल्लेख गरे । चिकित्सा शिक्षा ऐन र आयोग स्थापनापछि छात्रवृत्ति, मापदण्ड पालन, मेरिटका आधारमा भर्ना र शुल्क नियन्त्रणजस्ता सुधार भए पनि हाल सरकारले ऐन विपरीत सिट बढाउने समिति गठन गरेको भन्दै आपत्ति जनाएका छन् । डा. केसीले सिट वृद्धि मेडिकल शिक्षाको गुणस्तर मात्र होइन, आम जनताको स्वास्थ्यमा समेत खेलवाड हुने दाबी गरे । ‘हामी कुनै पनि हालतमा यस्तो कपट र षड्यन्त्र स्वीकार्दैनौं,’ उनले भनेका छन्।

उनले इलाम–उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्न, सरकारी स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्न, प्रतिष्ठान तथा विश्वविद्यालयका पदाधिकारी नियुक्ति मापदण्ड लागू गर्न र २०८५ देखि मेडिकल शिक्षा गैरनाफामूलक बनाउन कानुनी प्रक्रिया अघि बढाउन माग गरेका छन् । डा. केसीले भने, ‘यदि तत्काल सिट र शुल्क वृद्धि गर्ने निर्णय रोकिएन भने सत्याग्रहसहितको आन्दोलन सुरु गर्न बाध्य हुनेछौं ।’