प्रतिनिधि सभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । सांसदहरुले सरकारले राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी विधेयकको मस्यौदा संविधानको मर्म र भावना विपरीत बनाउन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद देवेन्द्र पौडेल र नारायणप्रकाश साउदले सरकारले तयार गरेको उक्त मस्यौदाले व्यक्तिको गोपनीयतासम्बन्धी हक खण्डित हुने धारणा व्यक्त गरेका छन् ।
उनीहरूले गुप्तचर विभागमा व्यक्तिको स्वतन्त्रतामा खलल पुग्ने गरी निजी जीवनसँग सम्बन्धित पक्षहरू ‘रेकर्ड’ तथा अभिलेखीकरण गर्नु संविधान विपरीत हुने भएका संविधानसम्मत विधेयक ल्याउन सरकारसँग अनुरोध गरे ।
नागरिकको गोपनीयतामाथि गम्भीर आघात पुग्ने गरी फोन कल, म्यासेज, सहज कुराकानी, संवाद, भिडियो आदिलाई रेकर्ड गर्ने गरी संविधान प्रदत्त नागरिकको हक विपरीत विधेयक ल्याउन नहुने धारणा उनीहरूले व्यक्त गरे ।
यसैगरी सांसद दिलेन्द्रप्रसाद बडूले कैलालीको धनगढीस्थित कारागारमा दुई पक्षका कैदीबीच भएको हिंसात्मक झडपको घटना अन्य कारागारमा दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराए ।
“जम्मा १५० जना क्षमताको कैलाली कारागारमा ७०० जना किन र कसरी थुप्रिन पुगे रु यस अवस्थामा सुधारका लागि सरकारको के तयारी छ, संसद्लाई जानकारी चाहिन्छ”, उनले भने ।
सांसद पुष्पबहादुर साहले कैलाली कारागारमा भएको जस्तै हिंसात्मक घटना दोहोरिन नदिन आग्रह गर्दै भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकारीको बाढी पहिरामा परी ज्यान गुमाउने नेपालीका परिवारलाई राहत उपलब्ध गराउन माग गरे ।
यसैगरी सांसद ठाकुरप्रसाद गैरेले ‘हमास’द्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको उद्धारका पक्षमा भइरहेको कूटनीतिक पहललाई अझ प्रभावकारी बनाउन अनुरोध गरे ।
सांसद देवप्रसाद तिमलसेनाले किसानलाई मलखादको व्यवस्था, सुक्खा क्षेत्र घोषणा गरिएका क्षेत्रहरूमा राहतको प्रबन्ध र खानेपानीका लागि बजेटको व्यवस्था गर्न माग गरे ।
सांसद नारायणी शर्माले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका दाङमा आधुनिक सहर बनाउने गुरुयोजनाको कामले गति लिन नसकेको भन्दै आवश्यक समन्वयसहित सहजीकरणको लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद प्रकाश ज्वालाले बँदेल र बाँदरका कारण किसान प्रताडित भएको उल्लेख गर्दै किसानको मनोबल बढाउने गरी राहत सुविधाको व्यवस्था गर्न माग गरे ।
सांसद प्रभु हजाराले पर्सा जिल्लाको गण्डक नहरस्थित पुल भाँचिएपछि स्थानीय जनता मर्कामा परेको उल्लेख गर्दै सो स्थानमा यथाशीघ्र यथाशीघ्र ‘बेलिब्रिज’ निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए ।
सांसद दुर्गा राईले सरकारले बिचौलियाको स्वार्थ अनुकूल नीतिगत निर्णय गर्न र ऐनहरू बनाउन खोजेको आरोप लगाइन् । सांसद निर्मला कोइरालाले अनावश्यक वादविवादमा नगरी हातेमालो गरेर देश र जनताका पक्षमा काम गर्न पार्टी नेताहरूसँग आग्रह गरिन् ।
शून्य समयमा भाग लिनुहुने सांसदहरू पूर्णबहादुर घर्ती मगर, प्रेम सुवाल, दीपा शर्मा र धनबहादुर बुढाले आआफ्ना निर्वाचन क्षेत्रका मागसहित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।


प्रतिक्रिया