कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण
झापा– झापाको कनकाई नगरपालिका– ४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ ।
कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो । विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको २० लाख र विभिन्न दाताको १० लाख रुपैयाँ लगानी रहेको छ ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्युतीय शवदाह गृह कनकाई नगरपालिकाले सञ्चालन गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको जानकारी दिए । ‘शवदाह गृह सञ्चालनका लागि कार्यविधि नै बनाएका छौँ’, उनले भने, ‘एक साताभित्रै विधिवत रूपमा सञ्चालन गर्ने तयारी भइरहेको छ ।’
कन्काई घाट व्यवस्थापन समितिका महासचिव एवं विद्युतीय शवदाह गृह पूर्वाधार निर्माण समितिका संयोजक गोपाल खरेलले भारतीय प्राविधिक टोलीले विद्युतीय शवदाह गृह निर्माणको काम सम्पन्न गरेर फर्किसकेको जानकारी दिए ।
गत साउन २७ गते परीक्षणका क्रममा झापा गाउँपालिका पन्थापाडाकी ८० वर्षीया हेमती राजवंशीको शव दहन गरिएको उनको भनाइ छ ।
विद्युतीय शवदाह गृहबाट एउटा शव दहन हुन करिब ५० मिनेट लाग्ने उनले बताए । दाउराको प्रयोग गरेर शव दहन गर्दा तीनदेखि साढे तीन घण्टा लाग्ने उनको भनाइ ।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ मा ल्याएको बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेको थियो ।
निर्माण सम्पन्न भएसँगै कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानीयस्तरबाट उठेको माग सम्बोधन भएको छ । २०६७ सालमा स्थापना भएको कनकाई घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा छ ।
विद्युतीय शवदाह गृह सञ्चालनमा आएपछि दाहसंस्कारमा प्रयोग गरिने दाउरा र समयको बचत हुने छ भने वातावरण संरक्षणमा पनि मद्दत मिल्ने जनाइएको छ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया