काठमाडौँ .राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जमानतमा रिहा गर्नुपर्ने माग गर्दै उनकी पत्नी निकिता पौडेलले उच्च अदालत बुटवलमा पुनरावेदन गरेकी छिन्।
रुपन्देही जिल्ला अदालतले रविलाई जमानतमा नछोड्ने निर्णय गरेपछि निकिताले सोमबार उच्च अदालतमा पुनरावेदन दायर गरेकी हुन्।
निकिताले सामाजिक सञ्जालमार्फत आफूले अदालतको ढोका ढक्ढक्याएको जानकारी दिँदै, श्रीमान् लामिछानेको ज्यान सुरक्षित नरहेको उल्लेख गरेकी छिन्।
उनले फेसबुकमा लेखेकी छन्, “आज मैले उच्च अदालत, बुटवलको ढोका पनि ढक्ढक्याएँ। मेरो श्रीमान् भन्नुहुन्छ– यो देशमा शक्ति पृथकीकरण समाप्त भइसकेको छ। तर म श्रीमतीको नाताले भन्छु– न्याय पाइयोस् कि नपाइयोस्, संविधानले दिएको हक प्रयोग गर्दै हरेक न्यायको ढोका ढक्ढक्याउनेछु।”
उनको भनाइमा, लामिछानेलाई बिगो माग गरेर त्यसको बैंक जमानत लिएर बाहिरैबाट मुद्दा लड्ने अवसर दिनुपर्छ।
निकिताले लामिछानेको जीवन भैरहवा कारागारमा सुरक्षित नरहेको, र सरकारका उच्चपदस्थ नेताहरूले संसदमै उभिएर धम्की दिने कार्य भइरहेको आरोप पनि लगाएकी छिन्।
उनले लेखेकी छन्, “हिजो पनि भनेकी थिएँ, आज पनि भन्छु– मेरो श्रीमानको जीवन सुरक्षित छैन। कसरी कारागारमा राखिएको थियो, कसरी जेल सार्न नदिइएको थियो– सबै प्रष्ट छ। झुटा मुद्दा लगाएर, सत्ता र शक्तिको दुरुपयोग गरेर जेलमा थुनेको एकजना नागरिकलाई प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले संसद्को रोष्ट्रमबाट धम्क्याउनु के संकेत हो– जनताले आफैँ बुझ्नेछन्।”
निकिताले पुनरावेदनमार्फत रविलाई जमानतमा रिहा गर्न माग गरेकी छन्, ताकि उनले बाहिरैबाट कानुनी प्रक्रिया सामना गर्न सकून्।


प्रतिक्रिया