लोमान्थाङमा ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ हुने
कास्की । विश्वकै उच्च भागमा हुने प्रतिष्ठित गल्फ प्रतियोगिता ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ को चौथो संस्करण यही भदौ २८ र २९ गते हुने भएको छ ।
मुस्ताङको लोमान्थाङमा अवस्थित समुद्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको लोवथाङ गल्फ कोर्समा प्रतियोगिता हुने आयोजक मुस्ताङ गल्फ कोर्सले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
उक्त प्रतियोगितामा स्वदेश तथा विदेशबाट गरी ६० भन्दा बढी गल्फरहरूको सहभागिता रहने आयोजक संस्था मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले जानकारी दिए। उनका अनुसार यस संस्करणमा नेपालका शीर्ष गल्फ खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
गत वर्षसम्म नौ होलमा सीमित प्रतियोगिता यस वर्ष १८ होलमा विस्तार गरिएको छ । प्रतियोगिताका विजेतालाई क्रमशः रु. ३० हजार, रु. २० हजार र रु. १० हजार नगदसहित ट्रफी प्रदान गरिने छ ।
यसैगरी ‘होल इन वान’ गर्ने भाग्यशाली खेलाडीलाई पुरस्कार स्वरूप घोडा दिइने प्रबन्ध निर्देशक विष्टले बताए। यो पुरस्कार विश्वभरका गल्फरहरूका लागि अनौठो हुने उनको भनाइ छ ।
प्रतियोगिता ‘स्टेवलफोर्ड’ ढाँचामा खेलाइने छ । जसअन्तर्गत विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, सिनियर विजेता, ‘क्लोजेस्ट टु द पिन’, ‘मस्ट बर्डिज’, र ‘लंगेस्ट ड्राइभ’ का लागि छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी यस वर्षको संस्करण ‘टी फर क्लाइमेट’ भन्ने नारासहित सञ्चालन हुने विष्टले बताए । “मुस्ताङ अहिले जलवायु संकटको चपेटामा छ । यसबारेमा विश्वको ध्यानाकर्षण गराउन हामी उच्च स्थानको गल्फ कोर्सबाट सन्देश प्रवाह गर्दै छौँ”, प्रबन्ध निर्देशक विष्टले भने ।
खेलसँगै स्थानीय कला, संस्कृति र सङ्गीतका विविध प्रस्तुतिहरू प्रतियोगिता अवधिभर प्रस्तुत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकार, लोमान्थाङ गाउँपालिका तथा विभिन्न संघसंस्थाहरूले सहयोग गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न रु. १० देखि रु. १२ लाख खर्च हुने अनुमान गरिएको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया