नेतृत्व छाड्न तयार होलान् तीन दलका शीर्ष ?
काठमाडौं । जेन–जी पुस्ताले भदौ २३ बाट सुरु गरेको आन्दोलनको भोलिपल्ट सार्वजनिक र निजी सम्पत्तिका साथै औद्योगिक कलकारखाना जलाइए । उग्र आन्दोलनकारीको आवेग र उत्तेजनाको निशानामा पुराना तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का तीनै शीर्ष नेता परे । कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ, तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको बालकोट र नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवास आन्दोलनकारीले झोसेको आगोको लप्काले तहसनहस भयो ।
देश विकास गर्ने सपना बाँडेर आलोपालो सत्ता रसास्वादन गरेका कांग्रेस, एमाले र माओवादीका शीर्ष नेता जनताको आवेगको निशानामा पर्नुको कारण राज्यका निकायमा अति दलीयकरण गर्दै आफ्नो प्रत्यक्ष/अप्रत्यक्ष संलग्नतामा भ्रष्टाचार, कुशासन बढाउनु थियो । जेन–जी पुस्ताको उथलपुथलकारी ऐतिहासिक विद्रोहले एउटा स्पष्ट सन्देश दिएको छ– शीर्ष दलका नेतृत्वले राजनीतिबाट अवकाश रोजेर आफूभन्दा मुनिकालाई हस्तान्तरण गर ।
उथलपुथलकारी आन्दोलनपछि अहिले तीन वटै पुराना दल कांग्रेस, एमाले र माओवादीको शीर्ष नेतामाथि नेतृत्व त्यागेर मार्गप्रशस्त गर्न तीव्र दबाब परिरहेको छ । तीन वटै राजनीतिक दलका नेतृत्वउपर पार्टी जिम्मेवारी हस्तान्तरण गरेर अवकाश लिने यस्तो आवाज सम्भवतः एकसाथ उठेको पहिलो पटक हुनुपर्छ ।
लामो समयदेखि पार्टी नेतृत्व विस्थापन गराउन प्रयासरत कांग्रेस महामन्त्री गगन थापाले तातेकै छेको पारेर फेरि पनि घन ठोकेका छन् । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेललगायत नेताले साथ दिइरहेका छन् ।
ओलीका कारण आन्तरिक लोकतन्त्र कोमामा पुगेको नेकपा एमालेमा उनीविरुद्ध बोल्न आँट गर्ने नेता निकै कम छन् । यद्यपि, त्यहीभित्र पनि जेन–जी समूहको विद्रोहपछि उनले पार्टी अध्यक्ष छाड्नुपर्ने मत बाक्लिन थालेको छ । ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे लगायत नेताले यसअघि नै ओली दबदबाकै बीच चुनौती दिइसकेका हुन् । अब कुनै बेला उनकै निकटस्थ भनेर चिनिएका गोकुल बाँस्कोटालगायतका नेताहरूले समेत मुखै फोरेर ओलीबाट एमाले अघि बढ्न नसक्ने बताउन थालेका छन् ।
‘अरू क्षति रोक्न जे भो भो हैन, किन भो, कसरी भो र अब के, कसरी, कहिले गर्ने ? छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौं । अप्रिय लाग्ला तर सत्य यै हो कि दलविना गणतन्त्र बाँच्दैन र गणतन्तत्रविना समाज । समय,परिवेश, प्रकृति, प्रक्रिया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ । सबै तयार हुनै पर्छ,’ पार्टीलाई नयाँ हिसाबले अघि बढाउनुपर्ने तर्क गर्दै उनले लेखेका छन् ।
नेकपा (माओवादी केन्द) भित्र जनार्दन शर्माले छेडेको पुस्तान्तरणको बहस अरू सघन बन्दै गएको छ । आगामी निर्वाचनमा प्रचण्डकै नेतृत्वमा गएमा पार्टीलाई ठूलो क्षति हुने भन्दै नेताहरूले उनले मार्गप्रशस्त गर्नुपर्ने तर्क गरिरहेका छन् । प्रचण्डलाई नेतृत्व छाड्न अनुरोध गर्नेमा उनकै खेमाका नेतासमेत छन् ।
जेन–जी समूहबाट घरमै निर्घात कुटिएका देउवा राजधानीको कुनै एक अस्पतालमा उपचाररत छन् भने एमाले अध्यक्ष केपी शर्मा ओली अझै पनि आफ्नो सरकारका तत्कालीन मन्त्रीसहित नेपाली सेनाको सुरक्षा घेरामा छन् । जेन–जी विद्रोहपछि प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्ति सार्वजनिक भए पनि उनीसमेत बाहिर निस्कन सकेको अवस्था छैन ।
यी तीनमध्ये देउवाले जेन–जी विद्रोहबारे हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । त्यस्तै, ओलीले पनि औपचारिक रूपमा मुख खोलेका छैनन् । सम्भवतः दुवै नेता आफूहरूमाथिको तीव्र आक्रोस बुझेर उचित समयको प्रतीक्षा गरिरहेको हुनुपर्छ । प्रचण्डले चाहिँ विज्ञप्ति सार्वजनिक गरेर धारणा व्यक्त गरिसकेका छन् । हालसम्मकाे उनीहरूकाे मनस्थिति हेर्दा दलकाे नेतृत्व नछाड्ने बरु टाँसिएरै बस्ने संकेत मिल्छ ।
लघार्ने दाउमा देउवा
नेतृत्व हस्तान्तरणको मुद्दा आगामी दिनमा तीन दलमध्ये कांग्रेसमा सबैभन्दा चर्को रूपमा उठ्ने देखिन्छ । केही वर्षयता देउवा विस्थापन गर्न कम्मर कसेर लागेका डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माले त्यसका लागि आफ्नोतर्फको भित्री तयारी सुरु गरिसकेका छन् । देउवा अस्पतालमा उपचाररत रहेको मानवीय पक्षलाई हेक्का राखेर बसेका कांग्रेसका नेताहरूले उनी सामान्य स्थितिमा फर्किएपश्चात आफ्नोतर्फबाट दबाब बढाउनेछन् । कुनै औपचारिक फोरम राखेर देउवालाई महाधिवेशन यतै हटाउने देउवाइतर समूहको रणनीति रहेको बताइन्छ ।
स्रोतका अनुसार, देउवा भने सजिलै पार्टी सभापति छाडिदिएर मार्गप्रशस्त गर्ने मनस्थितिमा अझैसम्म देखिएका छैनन् । देशमा उत्पन्न परिस्थितिलाई समग्र ढंगले हेर्नुपर्नेमा त्यसो नगरी सतही ढंगले विश्लेषण गरेर पर्गेल्नेतिर देउवा अघि बढे भने आश्चर्य नमान्दा हुन्छ । स्रोतका अनुसार, ओली सरकारले गरेको अपराधको भारी आफूलाई बोकाउन नमिल्ने तर्क अघि सारेर आगामी महाधिवेशनसम्म पार्टी सभापतिमा टिकिरहने रणनीति उनको छ ।
‘जेन–जीमाथि सरकारले गरेको दमनको सजाय मैले किन पाउने भन्ने हिसाबले आगामी दिनमा उहाँ अघि बढ्ने सम्भावना बढी छ,’ जेन–जी विद्रोहपछि देउवालाई नजिकबाट नियालिरहेका कांग्रेसका एक नेताको आशंका छ । अहिलेको प्रतिकूल समयमा देउवा नबोलेर मौन बस्नुको कारण त्यही भएको ती नेताको दाबी छ ।
यद्यपि, प्रतिनिधिसभा विघटनप्रति असन्तुष्टि जनाउँदै विज्ञप्ति जारी गरेको नेपाली कांग्रेसले यसमा विवाद नगरी निर्वाचनमा जाने संकेत गरेको छ । जेनजी आन्दोलनको मागबमोजिम सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरमि सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने घोषणा गरिसकेको छ ।
छैन ओली सुध्रने छाँट
भनिरहनु पर्दैन कि अहिलेको भयावह स्थितिका मुख्य जिम्मेवार एमाले अध्यक्ष केपी शर्मा ओली हुन् । ओलीकै कारण कैयन् जीवन समाप्त भएकाले उनले यसको सजाय पाउनु पर्छ । सम्भवतः सरकारले यो अपराधका निम्ति उनलाई कानूनी कठ्घरामा उभ्याउनेछ ।
ओलीको अत्याचारबाट आजित भएकाहरू मात्र होइन, उनका निकटस्थ भनेर चिनिएका नेता तथा कार्यकर्ताले समेत अब एमाले उनको नेतृत्वमा चल्न नसक्ने निचोड निकालिसकेका छन् । तर ओलीले पार्टी छाड्ने संकेत त परको कुरा, राज्य शक्तिको आडमा युवामाथि मच्चाएको अपराधमा प्रायश्चित गर्ने छनक समेत दिएका छैनन् । एमालेका एक कार्यकर्ताले ओलीको भनाइ दाबी गर्दै सार्वजनिक गरेको अपिलमा पनि उनले आफूबाट भएको गल्तीमा प्रायश्चित गर्नुको साटो अरूमाथि दोष थोपरेर पानीमाथिकाे ओभानाे हुन खाेजेका छन् । आफ्नो अहंकार र सत्तालिप्साले ६ दर्जन बढी मानिसले ज्यान जोगाउँदा समेत उनले अहिलेसम्म औपचारिक रूपमा माफी नमाग्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी एमाले पंक्तिभित्र भइरहेको छ ।
अन्य दलका नेता सार्वजनिक रूपमा बाहिर निस्किसके पनि सुरक्षाका कारण ओली भने ६ दिनदेखि सेनाको चौघेराभित्र छन् । उनी कहिले बाहिर आउँछन् भन्नेबारे केही बताइएको छैन । सम्भवतः बाहिर निस्किएपछि उनले आफ्ना धारणा राख्नेछन् । तर ओली पार्टी नेतृत्व छाड्न तयार नहुने उनीसँग संवादमै रहेको बताइएका शंकर पोखरेलको अभिव्यक्तिबाट अनुमान गर्न सकिन्छ । ओली नेतृत्वको सरकारको पतनपश्चात एमालेमा उनको वहिर्गमनको माग उठिरहे पनि पोखरेलले संकटका बेला नेतृत्वको विकल्प खोज्न नहुने भनेर बचाउ गरिरहेका छन् । एमालेका एक नेता ओलीसँग संवादमा रहेका पोखरेलको अभिव्यक्तिबाट पनि उनले पुस्तान्तरणका लागि अहिले चलिरहेको बहस नकार्ने अनुमान गर्न सकिने बताउँछन् ।
एमाले–कांग्रेस देखाएर पन्छँदै प्रचण्ड
नागरिक आक्रोस विस्फोटको तत्कालीन कारण केपी शर्मा ओली र उनी नेतृत्वको सरकारको कार्यशैली भए पनि यसलाई हुर्काउनेमा प्रचण्डको पनि कम भूमिका छैन । ओठमा सुशासन र समृद्धिको नारा भए पनि प्रचण्डले निरन्तर भ्रष्टाचार, कुशासन र वेथितिलाई नै मलजल गरिरहे । प्रचण्डको निवासमा डढेर खरानी भएका पैसाका खातले पनि धेरै कुरा बोल्छ ।
त्यसैले अहिलेको समयको माग माओवादी केन्द्रबाट प्रचण्डको वहिर्गमन हो । उनको पार्टीभित्र यो बहस पहिल्यैदेखि उठ्दै आइरहे पनि जेन–जी विद्रोहपछि थप मुखर हुन थालेको छ । तर प्रचण्ड कांग्रेस र एमालेलाई अहिलेको अवस्थाको अपजसको भारी बोकाउँदै पन्छने दाउमा छन् । जेन–जी विद्रोहपश्चात उनले सार्वजनिक गरेका विज्ञप्तिले उनले सहजै पार्टी नेतृत्व हस्तान्तरण गर्दैन भन्ने स्पष्ट संकेत गरिसकेको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया