अमेरिकी कर नीतिका कारण जापानी निर्यातमा १४ प्रतिशत गिरावट
एएफपी । अगस्ट महिनामा अमेरिकातर्फ जापानको निर्यात करिब १४ प्रतिशतले घटेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ कर नीतिले ठूलो असर पारेको तथ्यांक बुधवार सार्वजनिक भएको छ । तथ्यांकअनुसार अटो ढुवानी एक चौथाइभन्दा बढी घटेको छ ।
अमेरिकी राष्ट्रपतिले बजार र विश्वव्यापी व्यापारमा हलचल ल्याउने गरी विभिन्न देशहरूमा कर लगाउने घोषणा गरेपछि यो पछिल्लो ठुलो गिरावट देखिएको हो । ब्लुमबर्गका अनुसार अमेरिकातर्फको जापानी सामानको मूल्य १३ दशमलव आठ प्रतिशतले घटेको यो चार वर्षकै सबैभन्दा ठुलो कमी हो ।
जापानको वित्त मन्त्रालयअनुसार अटो निर्यात २८ दशमलव चार प्रतिशत र अटो पाट्र्स सात दशमलव एक प्रतिशतले घटेका छन् । वर्षको सुरुदेखि नै ट्रम्पको व्यापार युद्धका कारण कार तथा सवारी साधनहरूको ढुवानीमा निरन्तर गिरावट आएको छ ।
अमेरिकातर्फ हुने जापानी निर्यातको झन्डै एक तिहाइ हिस्सा ओगट्ने अटो उद्योग २७ दशमलव पाँच प्रतिशत लेवीको मारमा परेको छ । यद्यपि मंगलवार लागू भएको नयाँ व्यापार सम्झौतापछि जापानी अटोहरूमा केही कम अमेरिकी शुल्क लागू भएको छ । अब कारलगायतका सवारी साधनहरूले अन्य धेरै वस्तु सरह १५ प्रतिशत टोल भुक्तान गर्नुपर्नेछ ।
सम्झौताको कार्यान्वयनलाई जापानका उद्योगका लागि अस्थायी जित मानिएको छ । तर लेवीहरूको दबाबका कारण जापानी व्यापारिक लबीहरूले टोकियोले थप वार्ता अघि बढाउने अपेक्षा राखेका छन् ।
अमेरिकी उत्पादन बढाउन र विशाल व्यापार घाटा कम गर्न ट्रम्पले विश्वभरका देशहरूमा उच्च आयात भन्सार शुल्क लगाएका छन् । जापानको अटोमोबाइल उद्योगले-टोयोटा र होन्डा जस्ता ठुला कम्पनीहरूसहित-देशको कुल रोजगारीको करिब आठ प्रतिशत हिस्सा ओगट्छ ।
ट्रम्पले लामो समयदेखि आलोचना गर्दै आएको अमेरिकासँगको जापानी व्यापार अधिशेष अगस्टमा ५० प्रतिशतले घटेर तीन खर्ब २४ अर्ब येन (दुई अर्ब २१ करोड डलर) मा सीमित भएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया