NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

मुग्लिन-नारायणगढ सडकखण्डमा राति सवारी नचल्ने

काठमाडौ – चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको छ।

इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलानजिक खसेको पहिरो पन्छाइएको भए पनि अझै जोखिम यथावत् रहेकाले राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी प्रवेशमा रोक लगाइएको हो।

जिल्ला सुरक्षा समिति चितवनले जारी गरेको सूचनाअनुसार, तुइन खोलानजिक पहिरो खस्ने क्रम नरोकिएकाले यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो।

शुक्रबार बेलुकादेखि पहिरो खस्न थालेपछि शनिबार बिहानबाट सडक सफा गर्ने काम सुरु गरिएको थियो। तर, लगातार पहिरो खसिरहेकाले सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन आइतबार अपराह्न ४ बजेसम्म लाग्यो। यस बीचमा सवारी आवागमन ठप्प हुँदा सयौं यात्रु सडकमै अलपत्र परेका थिए।

हाल सडक एकतर्फी रूपमा सञ्चालनमा आएको भए पनि रातको समयमा थप जोखिम हुन सक्ने भएकाले सुरक्षा सावधानी स्वरूप राति सवारी चल्न नदिने निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रभावित क्षेत्र भएर यात्रा गर्ने सवारी चालक तथा यात्रुहरूलाई वैकल्पिक व्यवस्था गर्न र सूचनाको पालना गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।

ताजा अपडेट

नेपालवाच विशेष