NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

त्रिशूली मिनरल्सले प्रशोधनबिनै जारको पानी बिक्री गर्ने गरेको खुलासा

काठमाडौं । जारमा भरेर व्यावसायिक रूपमा पानी बिक्री गर्न त्यसको बाहिर तथा भित्र राम्रोसँग सफा गर्नुपर्ने व्यवस्था छ । उपभोक्ताले स्वस्थ र स्वच्छ पानी उपभोग गर्न सकून भन्ने कुरालाई मध्यनजर गरेर प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ अलग्गै जारी गरेर कार्यान्वयनमा समेत ल्याइएको छ ।

उक्त मापदण्डको बुँदा नं. ८ को (ग) मा स्पष्टसँग भनिएको छ– जारमा भएको बाह्य पदार्थ सफा गरिसकेपछि सूक्ष्म जीवाणु नष्ट गर्न क्लोरिन पानी वा स्यानिटाइजरमा जारलाई दुई मिनेट डुबाई त्यसलाई प्रशोधित पानीले कम्तीमा तीन पटक धोएपछि मात्र पानी भर्नुपर्नेछ । स्वचालित मेसिनबाट सफा गर्ने तथा प्रशोधित पानी भर्ने व्यवस्था गर्दै जानुपर्नेछ ।

त्यस्तै, सोही बुँदाको ‘ङ’ मा जार तथा बोटलमा कुनै पनि बाह्य पदार्थ तथा निर्माणको अवस्थामा निस्केका टुक्रा हुन नहुने र अस्वाभाविक गन्ध आउन नहुने उल्लेख छ । यसबाहेक उपभोक्ताले स्वस्थ तथा स्वच्छ पानी उपभोग गर्न पाउन् भनेर जारमा पानी भर्ने कामदारहरूको व्यक्तिगत सरसफाइदेखि प्रयोगशालाको व्यवस्था तथा गुण नियन्त्रण प्रक्रिया, मेसिनरी तथा उपकरणसम्मको अलग्गै मापदण्ड बनाइएको छ ।

प्रशोधित पिउने पानी जारमा राखेर बिक्री गर्दा पालना गर्नुपर्ने यति धेरै बाध्यकारी नियमलाई पन्छाउँदै त्रिशूली मिनरल्सले सिधै खोलाबाट पानी उभाएर उपभोक्तालाई बिक्री गर्ने गरेको खुलासा भएको छ । त्रिशूली मिनरल्सका सञ्चालक होम बोगटी स्वयंले खोलाबाट सिधै उभाएर आफ्नो कम्पनीको पानी बिक्री हुने गरेको बताए ।

‘गाडीमा पानी पु–याउने केटाहरूले बाहिर खोलामै पानी भरेर ग्राहकलाई दिँदा रहेछन्,’ पानीको गुणस्तरबारे फोनबाट गुनासो गरेका एक उपभोक्तालाई बोगटीले भनेका छन् ।

मापदण्ड मिचेर कुच्चिएको र फुटेको जारमा पानी बेच्दै त्रिशूली मिनरल्स

यद्यपि, बोगटीले उक्त अडियो संवादमा त्यसमा आफूहरूको संलग्नता नरहेको दाबी गरेका छन् । जबकि, आफ्नो कम्पनीले उत्पादन गरेर बजारमा पठाएको पानीको गुणदोषको भागिदार उनी आफैं हुन् । आफ्नो कम्पनीको ट्यागमा बिक्री वितरण भएको पानीको गुणस्तरमाथि उठेको प्रश्नको दोष उनले अरूलाई दिन मिल्दैन । तर त्रिशूलीले गुणस्तरहीन पानी बजारमा पुगिरहेको थाहा पाउँदा पाउँदै पनि त्यसलाई नरोकी उपभोक्ताको स्वास्थ्यमाथि उल्टो खेलबाड गरिरहेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जन पानी प्रशोधन नगरी उपभोक्तालाई बिक्री गर्न नमिल्ने बताउँछन् । यदि कुनै कम्पनीले यस्तो गरेको भेटिएमा विभागले कानूनअनुसार कारबाही गर्ने उनले बताए ।

‘जारको पानी बिक्री वितरण गर्ने हाम्रो छुट्टै मापदण्ड छ । यदि कसैले त्यसको परिपालनाबेगर बिक्री वितरण गरिरहेको छ भने कानूनअनुसार कारबाही हुन्छ,’ उनले भने ।

 

ताजा अपडेट

नेपालवाच विशेष