पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ नवरात्री महामहोत्सव’
काठमाडौँ- बडादसैँका अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ नवरात्री महामहोत्सव’ सुरु भएको छ । श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज १६ सम्म सञ्चालन हुनेछ ।
महोत्सवमा देवी भागवत प्रवचन गरिनेछ । उक्त महोत्सवको उद्घाटन गर्दै परिषद्का अध्यक्ष रामशोभित नायकले पशुपति क्षेत्रलाई धार्मिक तीर्थाटानका माध्यमबाट धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। उनले धार्मिक सहिष्णुता अभिवृद्धि गर्न पनि महोत्सव उपयोगी हुने विश्वास व्यक्त गरे।
यसअघि गुहेश्वरीबाट बागमतीसम्म कलशयात्र गरिएको थियो । उद्घाटनका अवसरमा महाआरती विशेष गरिएको थियो । प्रत्येक दिन दुर्गा माताको प्रवचन, तथा भजनकीर्तन गरिनेछ ।
यसैगरी, घटस्थापना सुरु भएसँगै देशभरिका नवदुर्गा भगवतीका मन्दिरलाई रङरोगनसहित झिलीमिली बनाइन थालिएको छ । अहिले सहर, बजारदेखि गाउँघरमा दसैँका लागि भन्दै घर पोत्ने र मन्दिर क्षेत्रमा सरसफाइ गर्ने कार्य तीव्र रूपमा अगाडि बढाइएको छ ।
यसै सिलसिलामा सोमबार घटस्थापनाको दिन काठमाडौँको मैतिदेवी मन्दिरलाई विभिन्न किसिमका झिलीमिली बत्तीले सजाइएको छ । मन्दिर र सो क्षेत्रलाई झकिझकाउ बनाइएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वमा यहाँ नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरिन्छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई ‘बध’ गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।
नवरात्रको अन्तिम दिन पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया