सरायको रौनकसँगै दसैँ मेलामा काठेपिङ चढ्नेको घुइँचो
तम्घास (गुल्मी)- यहाँको कोतघरमा सरायको रौनकसँगै काठेपिङमा रमाउने सर्वसाधारणको घुइँचो लागेको छ ।
दसैँपछि कोतघरमा लाग्ने मेलामा विगतमा झैँ काठेपिङ राखिएका छन् । कात्तिक शुक्लपक्षमा भुइँ छोड्नुपर्छ भन्ने मान्यता गाउँघरमा छ । त्यही मान्यताले पनि यहाँ काठेपिङ खेल्नेको भीड लागेको हो ।
विशेषगरी घुम्ने लकडी राखिएको हुनाले कतिपयले यसलाई लकडी पिङ पनि भन्ने गर्छन् । तर गाउँघरमा प्राय: चर्खेपिङ वा काठेपिङले परिचित छ । मालिका गाउँपालिका–५ छापकी मनिषा महतराले भनिन्, “दसैँमा एकपटक भुइँ छाड्नुपर्छ भन्छिन्, त्यसैले म पनि पिङ खेल्नकै लागि यहाँ आएको हुँ । यो हाम्रो परम्परा हो ।” काठेपिङमा एकपटकमा १२ जनासम्म चढ्न मिल्छ ।
दसैँमा काठेपिङ केबल मनोरञ्जन मात्र नभई आम्दानीको स्रोत पनि बनेको छ । पिङ सञ्चालकले आम्दानी लिँदै आएका छन् । मालिका गाउँपालिका–७ घमिरका हिराबहादुर कार्कीले यो वर्ष बुल्म, अर्खबाङ्ग, अर्जैलगायत स्थानमा पिङ सञ्चालन गरे। उनले प्रतिव्यक्ति ५० रुपैयाँका दरले शुल्क लिए । सोमबार मात्रै अर्जैमा ५०० बढीले पिङ चढे । सबै खर्च कटाउँदा एक सिजनमा दुई वटा पिङबाट तीन लाखसम्म आम्दानी गरेको उनले बताए। वडाध्यक्षसमेत रहेका कार्कीले व्यावसायिक रूपमै पिङ सञ्चालन गर्दै आएका छन्। अर्जैको सरायमा मात्रै नौ वटा पिङ राखिएका छन् ।
यसक्षेत्रमा दसैँको एकादशीदेखि कोजाग्रत पूर्णिमा अर्थात् पाँच दिनसम्म विभिन्न स्थानमा मेलाकै रूपमा सराय नाच नाचिन्छ । सोही मेलालाई लक्षित गर्दै काठेपिङ सञ्चालन गरिएका हुन् । मालिका गाउँपालिका–६ का पूर्ववडाध्यक्ष शोभाखर गिरीले काठेपिङले गाउँको संस्कृति संरक्षणका साथै गाउँमा आन्तरिक पर्यटकसमेत प्रवर्द्धन भएको बताए ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया