केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । जेन–जी विद्रोहका कारण एक महिनाअघि सत्ताच्युत बनेको नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ ।
पार्टीको केन्द्रीय समितिको एजेण्डा तय गर्न पदाधिकारी सम्मिलित सचिवालयको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित निवासमा शुक्रबार बस्न लागेको हो ।
बैठक अहिले बिहान ११ बजे बस्ने नेकपा एमालेले जनाएको छ ।
एमाले केन्द्रीय समिति बैठक यही असोज २७ देखि २९ गतेसम्म बस्दैछ ।
बैठकमा समसामयिक राजनीतिक विषय, एमाले नेतृत्वमाथि उठेको विषयमाथि छलफल हुने अपेक्षा गरिएको छ । जेन–जी प्रदर्शनलाई सम्बोधन गर्नुको साटो दमन गरेको भन्दै आलोचित तत्कालीन प्रधानमन्त्री ओलीले पार्टी नेतृत्व छाड्नुपर्ने बहस एमालेमा चर्किंदै जान थालेको छ । सरकारमा छँदासम्म पार्टी सचिवालयमा सुविधाजनक बहुमतमा रहेका ओली सरकारबाट अपमानजनक बहिर्गमनसँगै अल्पमतमा परेका छन् । १९ सदस्यीय एमाले पदाधिकारीमा ओलीको पक्षमा ४ र विपक्षमा १४ जना रहेको बताइएको छ । पार्टी सचिव टोपबहादुर रायमाझी भने नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नको अभियोगमा पुर्पक्षका लागि कारागारमा छन् ।
पार्टीभित्र र बाहिरबाट नेतृत्व छाड्न दबाब परे पनि ओली भने टसको मस भएका छैनन् । सार्वजनिक रूपमै उनले आफ्नो शरीर सक्रिय रहँदासम्म एमाले नेतृत्व नछाड्ने बताइसकेका छन् । जेन–जी विद्रोह, त्यसको बलमा बनेको सरकारको सन्दर्भमा पनि उनले भड्कावपूर्ण अभिव्यक्ति दिइरहेका छन् । यसै सन्दर्भमा शुक्रबार बस्न लागेको एमाले सचिवालय बैठकलाई निकै चासोका साथ हेरिएको छ ।
एमालेका एक सचिवालय सदस्यका अनुसार, आजको बैठकमा जेन–जी विद्रोह, त्यसपछि विकसित राजनीतिक परिस्थित, सरकारले घोषणा गरेको निर्वाचन, पार्टी नेतृत्वमाथि उठेका प्रश्न, ओलीले पछिल्लो समय दिएका अभिव्यक्तिलगायत विषयमा छलफल हुनेछ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया