वैदेशिक रोजगार बोर्डको ‘श्रमाधान कल सेन्टर’मा गुनासा बढेपनि समाधान कम
काठमाडौँ । वैदेशिक रोजगार बोर्डले सञ्चालन गरेको ‘श्रमाधान कल सेन्टर’मा समस्या सुनाउनेको सङ्ख्या बढे पनि तिनको समाधान भने कम भएको पाइएको छ ।
बोर्डको वार्षिक प्रगति प्रतिवेदनमा २०८१/८२ मा कल सेन्टरमा ९५ हजार ६७ जनाले समस्या टिपाएका ३३ हजार ४३० का समस्या मात्रै समाधान भएका छन् । जसमा ६१ हजार ६३७ जनाका समस्या समाधान हुन सकेका छैनन् ।
यस्तै, २०७६र७७ देखि २०८१र८२ सम्म समस्या सुनाउने प्रवृत्ति बढेको देखिए पनि समाधानको अवस्था अझै प्रभावकारी हुन नसकेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा समस्यामा परेका नेपाली कामदारको गुनासो सुनुवाइ गरी सम्बन्धित निकायबाट यथाशीघ्र सहयोग उपलब्ध गराउने उद्देश्यले विसं २०७५ चैतदेखि कल सेन्टर स्थापना एवं सञ्चालन सुरु गरिएको हो ।
यस्तै, बोर्डबाट वैदेशिक रोजगारमा रहेका कामदारको स्वास्थ्य समस्या सम्बोधन गर्ने उद्देश्यले ‘टेलिमेडिसिन’ सेवा सञ्चालनसमेत सञ्चालनमा छ । यसमा पनि आव २०७९र८० देखि २०८१र८२ सम्म आठ हजार ५७९ सेवाग्राही रहेका छन् । यसमार्फत भने सत प्रतिशत समस्या समाधान भएको तथ्यांक छ ।
बोर्डले १८औँ स्थापना दिवसका सन्दर्भमा आज वार्षिक प्रगति प्रतिवेदन प्रकाशन गरेको हो । प्रधानमन्त्री सुशीला कार्कीलाई समेत बुझाइएको प्रतिवेदनमा कल सेन्टर वैदेशिक रोजगारका क्रममा समस्यामा परेका नागरिकको महत्त्वपूर्ण सहयोगी हुने उल्लेख छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगारबारे उठेका समस्या समाधानका लागि मन्त्रालय सधैँ चनाखो रहँदै आएको बताए । उनले कल सेन्टरको प्रभावकारिता बढेको र कतिपय समाधान गर्न नसकिने समस्यासमेत आउने गरेको बताए ।
बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले कल सेन्टरमार्फत समस्या टिपाउने तर समाधान भइसकेपछि पुन:सम्पर्क नगर्दा समाधानको तथ्यांक कम देखिएको धारणा राखेका छन् ।
बोर्डले २०७७ देखि २०८२ सम्म ४५,२४४ जनाले नि:शुल्क सीप विकास तालिम प्राप्त गरेको जनाएको छ ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया