मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त, होटलमा गराइयो शपथ, सातदलीय गठबन्धन आक्रोसित
काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा विवादास्पद ढंगले नेकपा (एमाले) का संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
आइतबार बिहान विवादास्पद ढंगले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी भण्डारीले नियुक्तिपत्रको मिति भने एक दिनअघि आइतबारको राखेर दिएकी छन् ।
नवनियुक्त मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख भण्डारीले बर्दिबासको पानस होटलमा आइतबार बिहान पद तथा गोपनीयताको शपथ गराएकी छन् । यसअघि यस्ता औपचारिक कार्यक्रम प्रदेश प्रमुखको कार्यालयमा हुने गरेकोमा उनले होटलमै पुुगेर मुख्यमन्त्रीलाई शपथ गराएकी हुन् । राजनीतिक तटस्थता देखाउनुपर्नेमा पक्षधरता देखाएको भन्दै राजनीतिक दलहरूले उनको कार्यशैलीको चर्को आलोचना गरेका छन् ।
नवनियुक्त मुख्यमन्त्री यादवले पदधार ग्रहण लगत्तै आफ्नो दल एमाले, संघीय समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एक–एक मन्त्री नियुक्त गरेका छन् । एमालेबाट लखन दास, संघीय समाजवादीबाट विमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छालाई उनले आफ्नो मन्त्रिपरिषद्मा समेटेका हुन् ।
सातदलीय गठबन्धन आक्रोसित
मधेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नबनेपछि शनिबार पदबाट राजीनामा दिएका थिए ।
सोनलले राजीनामा दिए पनि आइतबारसम्म प्रदेश प्रमुख भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी थिइनन् । त्यसैले मधेशका सातदलीय गठबन्धनले प्रदेश प्रमुखबाट संविधानको धारा १६८ (३) अनुसार सरकार गठन हुनसक्ने आशंका व्यक्त भएको थियो । संविधानको धारा १६८(२) अनुसार नै सरकार गठनको माग गर्दै उनीहरूले आइतबार प्रदेश प्रमुखको कार्यालयअगाडि प्रदर्शनसमेत गरेका थिए ।
संविधानको धारा १६८(२) अनुसार नै आफूले सरकार गठन गर्ने प्रतिबद्धता जनाएकी प्रदेश प्रमुख भण्डारी आइतबार बिहान अस्वस्थ भएको भन्दै उपचारका लागि काठमाडौं प्रस्थान गरेकी थिइन् । उनलाई निवर्तमान मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखकै कार्यालयमा गएर बिदाईसमेत गरेका थिए । तर उनी त्यहाँबाट हिँडेको केहीबेरमा मुख्यमन्त्री नियुक्त भएको पत्र र शपथ लिएको तस्बिर सार्वजनिक भएपछि मधेश प्रदेशको राजनीति फेरि तातिएको छ ।
मधेशका निवर्तमान मुख्यमन्त्री सोनलले प्रदेश प्रमुख भण्डारीले मधेशको अस्मिता समाप्त पार्ने खेल खेलेको आरोप लगाएका छन् ।
भण्डारीको कदम निन्दनीय : शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशको मुख्यमन्त्रीले यादवलाई नियुक्त गर्न अपनाइएको प्रक्रिया निन्दनीय भएको टिप्पणी गरेका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै उनले यस्ता गतिविधिले संघीयताप्रति थप वितृष्णा जगाउने उल्लेख गरेका छन् ।
‘मधेश प्रदेशमा भएको अ–राजनीति दुस्खद् छ । नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
एमालेभित्र पनि असन्तुष्टि
मधेसश प्रदेशमा गरिएको नयाँ सरकार गठनप्रति नेकपा एमालेभित्रै पनि असन्तुष्टि देखिएको छ । संविधानको धारा १६८(२) अनुसार सरकार गठन हुने सम्भावना जीवित रहेकै बेला १६८(३) अनुसार सरकार गठन गरिएको भन्दै एमालेभित्र असन्तुष्टि देखिएको हो ।
मधेश प्रदेशसभाका एमाले प्रमुख सचेतक हरिनारायण महतोले नहुनुपर्ने घटना भएको प्रतिक्रिया दिएका छन् । यसअघि पनि उनले संविधानको धारा १६८(२) अनुसार नै सरकार गठनको प्रयास गर्नुपर्ने बताएका थिए ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया