कञ्चनपुरमा तीन हजार १२५ नयाँ मतदाता थपिए
कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तीन हजार १२५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर संगीता विष्टका अनुसार शनिवारसम्म थपिएका मतदातामा पुरुष एक हजार ६८९ र महिला एक हजार ४३६ रहेका छन् ।
मतदाता नामावलीमा नाम दर्ता गर्नेमा बाह्य जिल्लाका पुरुष एक सय ३७ र महिला ९१ जना छन् । जिल्लामा नयाँ मतदाता थपिनु अघिको कुल मतदाताको सङ्ख्या तीन लाख तीन हजार ८७ रहेको छ । जसमा पुरुष एक लाख ४७ हजार २८३, महिला एक लाख ५५ हजार ८०३ र अन्य एक जना छन् ।
निर्वाचन कार्यालयले असोजदेखि मतदाता नामावली संकलन गर्दै आएको छ । मतदाता नामावली संकलनको म्याद कात्तिक मसान्तसम्म रहे पनि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद बढाएर मङ्सिर ५ गतेसम्मका लागि थप गरेको छ ।
नामावलीमा नाम दर्ता गराउन राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा साविक प्रयोगमा रहेको प्रि-रजिष्ट्रेसन सिस्टममार्फत आवेदन गरी निर्वाचन कार्यालयमा जैविक विवरण (फोटो तथा औँठा छाप) दिएर सेवा लिन सकिने व्यवस्था गरिएको छ ।
जिल्लामा एक सय ३२ मतदातनस्थल रहेका छन् भने तीन सय ४६ मतदान केन्द्र छन् । मतदान स्थल र मतदान केन्द्र थप हुने सम्भावना भने नरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले बताए । “पुनरावलोकनका लागि समय अभाव छ, कृष्णपुर नगरपालिकाको वडा नं ५ र ८ मा रहेका दुई वटा मतदान स्थल भने सारिएको छ”, उनले भने ।
उनका अनुसार वडा नं ५ को नगरपालिका भवनमा रहेको मतदान स्थललाई कञ्चन बहुमुखी क्याम्पसमा र वडा नं ८ को स्वास्थ्य चौकी भवनमा रहेको मतदान स्थललाई विणा माध्यमिक विद्यालयमा सारिएको छ । “मतदान स्थल र केन्द्र सबैको पहुँचमा पुग्ने गरी राखिएको छ”, सूचना अधिकारी महराले भने, “सबै मतदान स्थल र केन्द्र अपांग, महिला र ज्येष्ठ नागरिकमैत्री बनाइने छन् ।”
ताजा अपडेट
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह


प्रतिक्रिया