NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

‘नेपाल-भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ’ : अर्थमन्त्री खनाल

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले नेपाल-भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक भएको बताएका छन् ।

नेपाल–भारत उद्योग वाणिज्य संघको ३१औँ स्थापना दिवसका अवसरमा आज साँझ यहाँ आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले नेपाल भारतबीच ऐतिहासिक, भौगोलिक र सांस्कृतिक सम्बन्ध रहेको बताएका हुन् ।

“नेपालको आयात र निर्यातको ठूलो बजार भारत हो, नेपालको अर्थतन्त्रमा भारतको ठूलो योगदान रहेको छ”, उनले भने ।

अर्थमन्त्री खनालले नेपाल र भारतबीचको अर्थतन्त्रलाई मजबुद बनाउन नेपाल–भारत उद्योग वाणिज्य संघले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले भारत नेपालको प्रमुख व्यापार साझेदार छिमेकी मुलुक भएको बताउँदै भारतसँग नेपालले ऊर्जा, पूर्वाधारलगायतको क्षेत्रमा साझेदार गर्दै आएको बताए ।

नेपाल भारत उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल केसीले संघले विगत तीन दशकदेखि नेपाल र भारतबीच व्यापार, व्यवसाय र लगानी अभिवृद्धिको क्षेत्रमा काम गर्दै आएको बताए ।

कार्यक्रममा उद्योग व्यापारमार्फत राम्रो कर तिर्ने संघअन्तर्गतका कम्पनीलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको भूमिका विषयबारे अन्तरक्रिया गरिएको थियो ।