NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार २३ गते

देउवापुत्र जयवीरमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, एक साताभित्र हाजिर हुन विभागले काट्यो पत्र

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार सूचना जारी गर्दै सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको हो।

विभागले उनलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७१ बमोजिम सात दिनभित्र विभागको केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुरमा उपस्थित हुन भनेको छ। अनुसन्धानको सिलसिलामा बयान लिन आवश्यक भएकाले बोलाइएको सूचनामा उल्लेख छ। विभागका अनुसार सम्बन्धित व्यक्तिको ठेगानामा सम्पर्क हुन नसकेपछि प्रचलित कानुनअनुसार सार्वजनिक सूचना प्रकाशन गरी हाजिर हुन आह्वान गरिएको हो। तोकिएको अवधिमा उपस्थित नभए प्रचलित कानुनबमोजिम प्रक्रिया अघि बढाइने चेतावनी पनि सूचनामा छ।

जयवीर देउवा लामो समयदेखि नेपालबाहिर छन्। कांग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा देउवा पनि सिंगापुरहुँदै गत फागुनदेखि हङकङमा छन्।

विवादास्पद व्यवसायी दीपक भट्टसँग देखिएको व्यावसायिक सम्बन्धलाई लिएर जयवीर सरकारी अनुसन्धानमा तानिएका हुन्। पक्राउ परेका भट्ट र उनका साझेदार सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा छन्। भट्टको व्यावसायिक कारोबार छानबिन गर्दै जाँदा जयवीर जोडिएको विभागले भेटेको हो।

 

ताजा अपडेट

नेपालवाच विशेष