सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा
काठमाडौं । जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि फोरजी सेवा सुरु भएको हो ।
नेपाल टेलिकम जुम्ला कार्यालय प्रमुख पारस पुजाराका अनुसार त्यहाँ नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो । नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नं ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा फोर–जी सेवा उपलब्ध हुनेछ ।
उक्त टावरबाट गौरी, ओखरवाडा, हाट सिँजा, सिम्पाती, लुड्कु, गुठीज्युला बजार, बडुवालवाडा, बारकुडीवाडा, सञ्जेलवाडा, जाच र गोडिङ्गालगायतका क्षेत्रमा सेवा पुग्नेछ । टावर सञ्चालनका लागि हाल सोलार ब्याट्री प्रयोग गरिएको छ ।
टावर स्थापना भएको दुई महिनाभन्दा बढी समय भए पनि राष्ट्रिय प्रसारणलाइनको विद्युत् नपुगेका कारण सेवा सञ्चालनमा ढिलाइ भएको कार्यालयप्रमुख पुजाराले बताए । राष्ट्रिय प्रसारणलाइनबाट विद्युत् जडान गर्न नसकेपछि तत्कालका लागि सोलार प्रणालीमार्फत टावर सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ ।
सरकारले दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ । सोही योजनाअनुसार बाजुराको बडीमालिका मन्दिर क्षेत्रमा यस हप्ताभित्रै फोर–जी सेवा सञ्चालनमा आइसक्नेछ । सगरमाथा आधार शिविर क्षेत्रमा समेत ४जी सेवा विस्तारका लागि अध्ययन भइरहेको नेपाल टेलिकमले जनाएको छ ।
यसअघि उच्च हिमाली क्षेत्रका विभिन्न स्थानमा पनि फोरजी सेवा विस्तार भइसकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब तीन हजार नौ सय मिटर उचाइमा फोर–जी सेवा सञ्चालनमा छ । ताप्लेजुङको ओलाङचुङगोलामा करिब तीन हजार चार सय मिटर उचाइमा ४जी सेवा सुरु भइसकेको छ ।
देशका अन्य दुर्गम तथा सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमा समेत सेवा विस्तार गर्ने सरकारको योजना छ । डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको हो ।
हाल देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विस्तारका लागि करिब एक हजार ६०० नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ ।
ग्रामीण क्षेत्रमा सेवा विस्तार तथा गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा मात्रै ६ अर्बभन्दा बढी लगानी गर्ने तयारी गरेको छ ।
ताजा अपडेट
-
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा
-
सुदूरपश्चिम जाँदै मन्त्री प्रतिभा रावल, सहकारीदेखि भूमिहीनका समस्या सुन्नेसम्मको कार्यक्रम
-
प्रधानमन्त्री कार्यालयले भन्यो-प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी
-
रासायनिक मलको समस्या अध्ययन गर्न सरकारद्वारा १२ सदस्यीय कार्यदल गठन
-
अर्थमन्त्री डा. वाग्ले भन्छन्-‘नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन’


प्रतिक्रिया