NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १७ गते

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी। म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुग्दा ससाना पाँच ताल प्रष्ट देखेका थिए।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल पछिल्लो समय एउटै देखिन थालेकामा अनौठो मानिएको छ। “हिउँदका चार महिनाबाहेक अन्य समयमा पाँच कुण्डहरू देखिन्थे”, शेरचनले भने, “अहिले पहिलेको जस्तो कुण्डहरू देखिन छाडेको छ।”

पहिले तालको किनारैकिनार हिँडेर आरोही र भरियाहरू आधार शिविर पुग्ने गरेकामा २०६४ सालमा तिलिचो तालबाट हिउँपहिरो खसेर जनधनको क्षति गरेपछि चार हजार १९० मिटर उचाइमा अवस्थित हालको आधार शिविर प्रयोगमा ल्याइएको पर्यटन व्यवसायी शेरचनको भनाइ छ।

अन्नपूर्ण, फ्रेन्क, तिलिचो र नीलगिरि हिमालको फेदीमा गोलो आकारको ताल रहेको छ। अन्नपूर्ण र तिलिचो हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर प्राकृतिक हिमताल बनेको हो। जिल्लाको नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको पञ्चकुण्ड हिमतालमा जलवायु सङ्कटको छाया देखिन थालेको छ।

अन्नपूर्ण-६ का पर्यापर्यटनसम्बन्धी अध्येता घनश्याम खड्का हिमपहिरोको जोखिम र तापक्रम वृद्धिको असरबाट पञ्चकुण्ड ताल पनि अछुतो नरहेको बताउँछन्।

“एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र (इसिमोड)का विज्ञले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०१३ मा ०.०४१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुण्ड हिमतालको आकार सन् २०२५ मा बढेर ०.३८८ वर्गकिलोमिटर पुगेको छ”, खड्काले भने, “विगत १२ वर्षका अवधिमा अन्नपूर्ण हिमताल (पञ्चकुण्ड ताल)को आकार ८४६ प्रतिशतले विस्तार भएको इसिमोडको तथ्याङ्क छ।”

विसं २०६७ मा अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग पहिचानका लागि नारच्याङका स्थानीयहरूको अगुवाइ गरेर गएका अभियान्ता तेज गुरुङका अनुसार पाँच कुण्ड देखिएपछि पञ्चकुण्ड नामकरण गरिएको थियो।

“शेर्पाहरूले ‘डिकिचो’ भन्ने यस ताललाई नारच्याङका स्थानीयहरूकै अगुवाइमा पञ्चकुण्ड नामकरण गरिएको हो”, गुरुङले भने, “धार्मिक हिसाबले पनि यसलाई पञ्चकुण्ड भनिएको हो।” शेर्पा भाषामा डिकिचोको अर्थ जमेको ताल हो।

यहाँ रक्त, दुग्ध, ताम्र, शुद्ध र स्वर्ण गरी पाँच छुट्टाछुट्टै ताल भएको हिन्दू धार्मिकग्रन्थ पञ्च रामायणमा उल्लेख छ। धर्मग्रन्थका अनुसार परापूर्वकालमा कागभुसुन्दी नाम गरेका एक जना ऋषिले तपस्या गरेर ज्ञान आर्जन गरी यो तालका बारेमा विभिन्न ठाउँमा प्रचारप्रसार गरेका थिए।

पितृको सम्झनामा पिण्डदान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ। ताललाई धार्मिक आस्थासँग जोड्न परिसरमा शिव मन्दिर निर्माण गरिएको छ। स्थानीयवासीले पञ्चकुण्ड नजिकै रहेको डाँडालाई कागभुसुण्डी नामकरण गरेका छन्।

विसं २०७७ देखि सञ्चालनमा आएको नारच्याङदेखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गमा पर्ने पञ्चकुण्ड तालको विशेषता हिमाल, आधार शिविर र ताल एकैठाउँमा अवलोकन गर्न पाउनु हो।

पर्यटकले तालको किनारमा टहलिएर शान्त वातावरणमा रमाउने र ध्यान गर्छन्। कोही ताल र हिमाललाई पृष्ठभूमिमा पारेर तस्बिर, भिडियो खिच्ने र सामाजिक सञ्जालका सामग्री बनाउँछन्। तीन वर्षअघिसम्म यो ठाउँ सुनसान थियो।

प्राकृतिक सौन्दर्य र धार्मिक महत्व स्थानीयस्तरमा सीमित थियो। मौरिस हर्जोग पदमार्गमा आधारभूत पूर्वाधार निर्माण भई सञ्चालनमा आएसँगै पञ्चकुण्ड तालमा चहलपहल बढेको हो।

अभियान्ता गुरुङ हिउँदमा हिउँ जम्ने र गर्मीयाममा निलो देखिने तालमा चैत महिनामा मात्र पाँचवटा कुण्ड देख्न सकिने भए पनि क्षेत्रफल बढेको र जोखिम हुने विषयप्रति भने असहमति जनाउँछन्।

“अहिलेसम्म अन्नपूर्ण आधार शिविरबाट बग्ने खोलामा बाढी आएको इतिहास छैन र तालको क्षेत्रफल बढेको होइन, गहिरिएको हो”, गुरुङ भन्छन्, “विज्ञहरूले स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन।”

पञ्चकुण्डको पानी बग्ने मिस्त्रीखोला नारच्याङमा आएर कालीगण्डकी नदीमा मिसिन्छ। यो खोलाको पानी प्रयोग गरेर १५२ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन्। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पञ्चकुण्ड तालको विषयमा हालसम्म अध्ययन अनुसन्धान नभएको बताए।

“विश्वव्यापी तापक्रम वृद्धिको असर देखिन थालेकाले पञ्चकुण्ड तालको जोखिमको अवस्थाका विषयमा अध्ययन गर्नुपर्ने महसुस गरिएको छ”, अध्यक्ष पुनले भने, “गाउँपालिकासँग स्रोतसाधन र विज्ञ जनशक्ति नभएकाले सङ्घीय सरकारसँग अध्ययन अनुसन्धानका लागि अनुरोध गर्ने सोच बनाइएको छ।”

विश्वको औसत तापमान १.५ प्रतिशतले बढ्दा हिमालय क्षेत्रमा १.८ देखि दुई डिग्री सेल्सियससम्म बढ्ने गरेको अध्ययनले देखाएको छ। विश्वव्यापी तापमान वृद्धिका कारण हिमालय क्षेत्रमा हिमगलन बढ्नुका साथै नयाँ हिमताल थपिने, विस्तार हुने र विस्फोटन हुने दर बढिरहेको छ।

कम वर्षा र हिमपात उच्च हुने हिमाली क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा उच्च वर्षा हुँदा बाढीपहिरोका घटना बढिरहेका म्याग्दीसमेत कार्यक्षेत्र भएको भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार संरक्षण अधिकृत शम्भुकुमार मिश्रले बताए।

अध्यक्ष मिश्रका अनुसार गण्डकी प्रदेश सरकार मातहतको ताल प्राधिकरणले पञ्चकुण्डलगायत प्रदेशभरका सबै तालतलैयाको विद्युतीय प्रोफाइल तयार पारेको छ। हालसम्म यस हिमतालको विस्तृत भौगोलिक जोखिम मूल्यांकन भएको छैन।

अन्नपूर्ण हिमनदी तीव्र खुम्चाइ, पर्माफ्रोष्टको छिटोछिटो पग्लने क्रमले ताल क्षेत्र वरपरको थर्मोकाष्टको अवस्थाको ल्यान्डसट, सेन्टिनेल प्रयोग गरी अध्ययनमात्र होइन, तालको गहिराइ, मोरिन बाँधको भौगोलिक अवस्थिति आदि पत्ता लगाउन जियो राडडर (जिपिआर), सिस्मिक र विद्युतीय इआरटी उपकरणमार्फत अध्ययन आवश्यक देखिएको छ।

गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता पूर्णेश्वर सुवेदीले जलवायु परिवर्तनले पारेको असरका बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउन यस वर्ष कालीगण्डकी बेसिनमा जलवायु संवाद कार्यक्रम गर्न लागिएको जानकारी दिए।

“औद्योगिक देशहरूको कारण तापक्रम वृद्धिमा भएको असर हिमाली क्षेत्रमा देखिएको मुद्दालाई अन्तरराष्ट्रियकरण गर्न कालीगण्डकी जलवायु संवाद कार्यक्रम आयोजना गर्न लागिएको हो”, सुवेदीले भने, “जलवायुजन्य विपद्को जोखिमयुक्त क्षेत्र पहिचान गरेर प्रविधियुक्त पूर्वानुमान प्रणाली प्रयोगमा ल्याउनुपर्ने महसुस गरिएको छ।”

 

ताजा अपडेट

नेपालवाच विशेष