NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ११ गते

विपद्को जोखिम अझै टरेको छैन, सतर्क रहनुस् : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङको जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका छन् ।

आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री शाहले असोज ८ गतेदेखि हालसम्म भएका विपद्का घटनामा परी देशभर २१ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्लामा मानवीय क्षति भएको छ ।

विपद्का घटनामा पाँच जना घाइते भएका छन् भने पाँच जना बेपत्ता रहेको विवरण प्राप्त भएको शाहले बताए । मनाङमा हिमपहिरोमा परी मानिस बेपत्ता भएको सूचना आएकाले त्यसबारे थप विवरण संकलन भइरहेको उनले जानकारी दिए ।

प्रधानमन्त्रीका अनुसार बाढी, पहिरो, डुबान र चट्याङलगायतका ४३९ वटा मनसुनजन्य घटना भएका छन् । विपद्का कारण सडक, पुल, जलविद्युत् आयोजना, खानेपानी प्रणालीलगायतका पूर्वाधारमा क्षति पुगेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

७७ वटै जिल्ला कमान्ड पोस्ट सक्रिय

सम्भावित विपद्लाई ध्यानमा राख्दै सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत कमान्ड पोस्ट सक्रिय बनाएको प्रधानमन्त्री शाहले बताए । उनका अनुसार सूचना सम्प्रेषण, रात्रीकालीन यातायात तथा विद्यालय बन्दलगायतका सावधानीका निर्णय यसअघि नै गरिएको थियो ।

हाल ७७ वटै जिल्लाका कमान्ड पोस्ट सक्रिय अवस्थामा रहेको उनले जानकारी दिए ।

दर्जनभन्दा बढी सडक प्रभावित

बाढीका कारण नारायणी नदीमा क्रुजसिप बगेर पुलमा अड्किएपछि सावधानीका लागि पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ । पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथसहित काठमाडौं उपत्यका जोड्ने तथा विभिन्न जिल्लाका दर्जनभन्दा बढी सडक प्रभावित भएका छन् ।

भोटेकोशी–त्रिशूली नदी तटीय क्षेत्रका सडकमा पुनः क्षति पुगेको तथा कालीगण्डकीको पक्की पुलसमेत बगेको प्रधानमन्त्री शाहले बताए । क्षतिग्रस्त सडक मर्मत गरी यातायात सेवा यथाशीघ्र सञ्चालनमा ल्याउने सरकारको प्रतिबद्धता रहेको उनले उल्लेख गरे ।

१ हजार १३.२ मेगावाट विद्युत् आपूर्ति बन्द

बाढी र पहिरोका कारण कालीगण्डकी करिडोर, मर्स्याङ्दी तथा सेती–मादी करिडोरलगायत क्षेत्रमा क्षति पुग्दा राष्ट्रिय प्रसारण प्रणालीमा १ हजार १३ दशमलव २ मेगावाट विद्युत् आपूर्ति बन्द भएको छ ।

त्यसमध्ये प्रसारण लाइनका टावर ढलेका कारण ३१८ मेगावाट क्षमताका आयोजना पूर्ण रूपमा बन्द भएका छन् । जोखिमका कारण ६९५ दशमलव २ मेगावाट क्षमताका आयोजनाको उत्पादन भने सुरक्षात्मक रूपमा बन्द गरिएको शाहले बताए ।

विद्युत् आपूर्ति यथाशीघ्र पुनःस्थापना गर्न प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको उनले जानकारी दिए ।

नदीमा जलसतह बढेपछि आवागमन प्रभावित

महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकीबाट हुने नेपाल–भारत आवागमनसमेत प्रभावित भएको छ । सेती, नारायणी र कमला नदीमा पानीको सतह बढेको तथा कुलेखानी क्षेत्रमा समेत यातायात रोकिएको प्रधानमन्त्रीले बताए ।

हुरीसहितको वर्षाका कारण धान, तरकारीलगायत कृषि बालीमा समेत ठूलो क्षति पुगेको उनले उल्लेख गरे ।

प्रधानमन्त्री शाहले नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न अपिल गरेका छन् । संकटमा परेका नागरिकलाई शुल्क नलाग्ने १२३४ नम्बरमा सम्पर्क गर्न उनले आग्रह गरे ।

विपद्का बेला भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भंग गर्ने तथा कालोबजारी गर्नेहरूमाथि सरकारले निगरानी राखिरहेको पनि शाहले बताए ।

‘खतरा अझै टरेको छैन, जोखिम कायमै छ,’ भन्दै प्रधानमन्त्री शाहले धैर्य, संयम र एकताका साथ विपद्को सामना गर्न नागरिकलाई आग्रह गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष