NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २९ गते

पृथ्वी जोगाउन हरेक वर्ष ६ प्रतिशतले उत्सर्जन कटौती गर्न गुटेरेसको आग्रह

काठमाडौं: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा तल राख्न तत्काल र व्यापक रूपमा हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका छन्। टर्किएको अन्ताल्यामा जारी कोप-३१ सम्मेलनको अन्तिम पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आगामी केही वर्षसम्म प्रतिवर्ष करिब ६ प्रतिशतका दरले उत्सर्जन कटौती गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

महासचिव गुटेरेसले वर्तमान जलवायु प्रतिबद्धताहरू कार्यान्वयन भए पनि यस शताब्दीको अन्त्यसम्म तापक्रम २.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिम रहेको चेतावनी दिए। उनले भने, ‘हाम्रो जिम्मेवारी तापक्रम वृद्धिलाई १.५ डिग्रीभन्दा माथि जाने अवस्थालाई सकेसम्म न्यून राख्नु, छोटो अवधिसम्म सीमित गर्नु र तापक्रमलाई सकेसम्म छिटो पुनः १.५ डिग्रीभन्दा तल झार्नु हो।’ उनले जलवायु परिवर्तनका कारण विश्वमा भोकमरी, विस्थापन र गरिबी बढिरहेको भन्दै यसलाई शान्ति र मानवअधिकारसँग जोडेर हेर्नुपर्नेमा जोड दिए।

जीवाश्म इन्धन नै जलवायु संकटको प्रमुख कारक रहेको उल्लेख गर्दै उनले स्वच्छ ऊर्जा र विद्युतीकरणमा व्यापक लगानी आवश्यक रहेको बताए। उनले विकासशील मुलुकहरूका लागि जलवायु अनुकूलन र हानि तथा नोक्सानी सम्बोधन गर्न विकसित देशहरूले वित्तीय प्रतिबद्धता पूरा गर्नुपर्ने माग गरे। अनुकूलनका लागि उपलब्ध गराइने वित्तीय सहयोग तीन गुणा बढाउँदा पनि आवश्यक रकमको ३० प्रतिशतभन्दा कम मात्र पूरा हुने उनको भनाइ छ।

सम्मेलनमा सहभागी ९० भन्दा बढी विश्व नेताहरू फर्किसकेपछि वार्ताकारहरू विश्व अर्थतन्त्रको विद्युतीकरण र जीवाश्म इन्धन उद्योगबाट श्रमिकको व्यवस्थापनबारे छलफलमा केन्द्रित भएका छन्। यस वर्षको सम्मेलनमा जीवाश्म इन्धनसँग सम्बन्धित १०० भन्दा बढी कम्पनीका प्रतिनिधिहरूको सहभागितालाई लिएर आलोचना पनि भएको छ। नेपालका प्रकास दालालले नागरिक समाजको तुलनामा प्रदूषक कम्पनीहरूलाई बढी स्थान दिइएको भन्दै असन्तुष्टि जनाएका थिए।

महासचिव गुटेरेसले आफ्नो कार्यकालको अन्तिम कोप सम्मेलनमा सहभागी हुँदै जलवायु परिवर्तनको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताए। उनले विश्व समुदायलाई अन्तिम सन्देश दिँदै भने, ‘तथ्यको सामना गरौँ, विज्ञानको अनुसरण गरौँ, भविष्य रोजौँ र कहिल्यै हार नमानौँ।’ नोभेम्बर ९ देखि २० सम्म सञ्चालन भइरहेको कोप-३१ ले जलवायु कार्यलाई संयुक्त राष्ट्रसंघको प्राथमिकतामा राखेको छ।

ताजा अपडेट

नेपालवाच विशेष