युक्रेन युद्धः रुसी सेनासँग इन्धन र खाद्यान्न अभाव

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको २३ दिन पुगेको छ । बेलायतको रक्षा मन्त्रालयको ताजा आकलनअनुसार रुसले युक्रेनमा आक्रमण जारी राख्न संघर्ष गर्नु परिरहेको छ । मन्त्रालयको रिपोर्टमा रुसले युक्रेनमा धेरै अवरोधहरु सामना गर्नु परिरहेको उल्लेख छ ।
साथै सीमित गतिशिलता एवं हवाई सहयोगमा कमी आएका कारण रुसी सैनिकले एक स्थानबाट अर्कोमा खाद्यान्न र इन्धनजस्ता आधारभूत वस्तु उपलब्ध गराउन सकिरहेका छैनन ।
रिपोर्टमा लेखिएको छ, ‘युक्रेनका सैनिकले लगातार गरेको प्रतिरोधका कारण रुसले आफ्नो आपूर्ति लाइन बचाउन सैनिक तैनाथ गर्नुपरेको छ । यसै कारण रुसको आक्रमण क्षमता पनि कमी आएको छ ।’
अर्काेतर्फ, संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रम फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन, एफएओका प्रमुख अर्थशास्त्रीले हाल युक्रेनमा जारी रहेको युद्धका कारण विश्वमा नै खाद्य असुरक्षा बढ्न सक्ने बताएका छन् ।
उनले रुस र युक्रेनका बीचमा जारी रहेको युद्धका कारण खाद्यान्नको अभाव बढ्न सक्ने चेतावानी दिएका समाचारमा जनाइएको छ ।
प्रतिक्रिया