युद्धको सबैभन्दा बढी मूल्य महिला चुकाउँछन्

काठमाडौं । संयुक्त राष्ट्र संघको युएन वुमन महिला निकायकी कार्यकारी निर्देशक सीमा बहाउसले युद्धले महिला र बालिकाको जीवन, आशा र भविष्य बर्बाद गरिरहेको बताइन् ।
गहुँ र तेल उत्पादन गर्ने दुई देशबीचको यो युद्धले विश्वभरका अत्यावश्यक वस्तुको पहुँचलाई खतरामा पारेको र यसले महिला र केटीहरुलाई सबैभन्दा बढी असर गर्ने उनले भनिन् ।
बहाउसले युद्धमा घाइते भएका र मारिएका पुरुषको नाम उल्लेख गरिनन् । तर उनले भनिन्, ‘म प्राथना गर्छु, युद्धको समाना गर्ने महिला एवं सबैलाई छिटै शान्ति मिलोस भन्ने काम गर्छु ।’
जलवायु परिवर्तनसँग लड्न महिला सशक्तिकरण यस वर्ष संयुक्त राष्ट्र महिला एजेन्सीको दुई साताको बैठकको मुख्य विषय हो । कोभिड-१९ महामारीपछि तीन वर्षमा महिलाको अवस्थाबारे आयोगको यो पहिलो अफलाइन सत्र हो ।
बहाउसले सबै युद्ध र संघर्षका साथसाथै जलवायु परिवर्तनका कारण पनि महिला र बालबालिकाले ठूलो मूल्य तिर्नुपरेको बताइन् ।
अर्कोतर्फ बैठकलाई सम्बोधन गर्दै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समाज अझै पनि पुरुष प्रधान रहेको बताए । जलवायु संकट, प्रदूषण, मरुभूमिकरण र जैविक विविधताको हानि, साथै कोरोना महामारी र अहिले युक्रेन युद्धको प्रभावले सबैलाई असर गरेको र महिला र बालिकाले अझ बढी गम्भीर खतराहरु सामना गर्नुपरेको बताए ।
युक्रेन युद्धका कारण लाखौं महिला र बालबालिका देश छाड्न बाध्य भएका छन् । युक्रेनबाट हालसम्म ३२ लाख मानिस पलायन भएका छन् । युक्रेनको वर्तमान अवस्थाका कारण हरेक सेकेण्डमा एक बालबालिका शरणार्थी बन्न बाध्य भएको संयुक्त राष्ट्रसंघको मानवीय राहत एजेन्सीले जनाएको छ ।
प्रतिक्रिया