३५ दिनभित्र अधिग्रहण गरिएका जग्गा छाड्न एमसिए नेपालको उर्दी

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत निर्माण हुन लागेको ४०० केभी रातमाटे सव–स्टेशनका लागि अधिग्रहण गरिएको जग्गा र त्यसमा बनेको संरचना ३५ दिनभित्र छाड्न स्थानीयलाई निर्देशन दिइएको छ ।
एमसिसी परियोजना सञ्चालन निम्ति गठित मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले अधिग्रहण गरिएका जग्गा तथा तिनमा बनेका संरचना खाली गर्न सूचना जारी गरेको हो ।
एमसिए नेपालका अनुसार, जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालय, नुवाकोटले जग्गा प्राप्ति ऐन, २०३४ अनुसार यसअघि नै प्रक्रिया सुरु गरिसकेको छ । विभिन्न मितिमा सूचना प्रकाशित गरी मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायतासमेत निर्धारण गरी वितरण तथा जग्गाको लगत कट्टा र नामसारी भइसकेको छ ।
अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुरूप सव–स्टेशन निर्माणका लागि तारबार लगाउन लागिएकाले मुआब्जालगायत क्षतिपूर्ति र पुनर्वास सहायता रकम बुझिसकेका व्यक्तिलाई ३५ दिनभित्र घर तथा जग्गा खाली गर्न सूचना जारी गरिएको एमसिए नेपालले जनाएको छ ।
‘अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुरूप सव–स्टेशन निर्माणका लागि तारबार गर्ने कार्यलाई अविलम्ब अगाडि बढाउनु परेकाले मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू बुझिसकेका महानुभावहरूले अधिग्रहण गरिएका घरजग्गाहरू सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र खाली गरिदिनुहुन अनुरोधसहित यो सूचना प्रकाशित गरिएको छ,’ एमसिए नेपालद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ ।
एमसिसी परियोजनालाई लिएर राजनीतिक दल र नेपाली समाज विभाजित रहँदै आएको छ । राष्ट्रघाती रहेको भन्दै यसलाई लामो समय गिजोलिएको थियो । तथापि, ब्याख्यात्मक टिप्पणीसहित माओवादी केन्द्र र एकीकृत समाजवादीकै सहमतिमा यसलाई प्रतिनिधिसभाबाट हालै पारित गरिएको छ । परियोजनाअन्तर्गत विद्युत् प्रसारण लाइन र सडक निर्माण गर्ने सहमति छ । त्यसैअनुरूप नुवाकोटमा सव–स्टेशन निर्माणका लागि प्रक्रिया अघि बढाइएको हो ।
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया