अनि गोठमै जोडियो मितेरी साइनो

म्याग्दी । गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद तुलाचन गोठमै मितेरी साइनोमा जोडिएका छन् ।
जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५, मल्कबाङको भेडीगोठमा काम गर्न आएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै आएका तुलाचनसँग मीत लगाएका हुन् ।
कास्कीको भुजुङखोलामा अरूको घरमा काम गरेर जीविका चलाउँदै आएका घले करिब आठ महिनाअघि मात्रै म्याग्दीको हिमाली क्षेत्रमा रहेको भेडीगोठमा उक्लिएका थिए । भेडीगोठमा खाना पकाउने र भेडाका पाठापाठीको स्याहारसुसार गर्ने घलेले आफ्नो दौँतरी उमेरका तुलाचनलाई गोठमा भेट्टाएपछि मितेरी साइनोमा जोडिएको बताए ।
“यहाँ आउँदा कोही आफन्त थिएनन्, गोठालाको साथी नै गोठाला बन्ने न हो, आफ्नै दामलीलाई गोठमै भेट्टाएँ, आजभोलि मितज्यूसँग राम्रै दोस्ती बढेको छ”, घलेले भने । घले र तुलाचनको भेट भने एक महिनाअघि हिमाली क्षेत्रबाट गोठ बेँसीमा झरे पनि मल्कबाङ गाउँ नजिकैको फाँटमा भएको थियो ।
अहिले मल्कबाङको काफलडाँडाको फाँटमा घलेले काम गर्ने भेडीगोठ र तुलाचनको भैँसीगोठ एकै ठाउँमा छन् । गोठबाट पानी ल्याउन खालीखोला जाँदादेखि गोठमा चाहिने दाउराघाँसमा उनीहरूले सहकार्य गर्छन् ।
घलेले काम गर्ने भेडीगोठमा नियमित रूपमा चार–पाँच जना भइरहने भएकाले तुलाचनसमेत बिहान–बेलुका भेडीगोठमै गफगाफमा भेटिन्छन् ।
वर्षौँदेखि घुम्ती गोठ राखेर भैँसीपालन गर्दै आएका तुलाचनले बुढ्यौलीमा गोठतिर एक्लोपन बढेको समयमा आफ्नै उमेरका व्यक्तिलाई मीतका रूपमा नजिकको साथी बनाउन पाउँदा खुसी लागेको बताए ।
“हामीलाई गोठले नै साथी बनायो, उहाँ कताको म कताको, गोठ नभइदिएको भए भेट हुनु कहाँको,” तुलाचनले भने ।
तुलाचनको गोठमा नौवटा भैँसी छन् ।
दुई जना मितेरी साइनोमा जोडिएपछि एकअर्का गोठको परिकारसमेत सटही गर्ने मात्रै नभएर आलोपालो लगाएर गोठमा खानासमेत खाने गर्छन् । भैँसीगोठबाट तुलाचनले नियमित रूपमा दूध लगेर भेडीगोठ पुग्छन् भने भेडीगोठका भान्सेका रूपमा काम गर्ने घलेले पनि आफ्नो भान्साको परिकार आफ्नो मीत तुलाचनलाई चखाउने गर्छन् ।
बुढ्यौली लागेका दुवै जनामा गोठमा गाँसिएको मित्रता र हार्दिकता लोभलाग्दो रहेको भेडीगोठका सञ्चालक हिमबहादुर छन्त्याल बताउउँछन् । नाता सम्बन्ध नभए पनि भावनात्मक सम्बन्ध बढ्दै गएपछि मीत लगाउने चलन नेपाली समाजमा पुरानै हो । तर पछिल्लो समय संस्कृतिमाथि आएको बाह्य प्रभाबका कारण ‘मीत ÷मीतिनी’ साइनो हराउँदै गएको छ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया