कतार इनर्जी र भारतको पेट्रोनेटबीच २० वर्षको ग्यास सम्झौता

दोहा । भारतको पेट्रोनेटलाई २० वर्षसम्म तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आपूर्ति गर्न सहमत भएको खाडी इमिरेट्सको सरकारी स्वामित्वको ऊर्जा फर्मले मङ्गलबार घोषणा गरेको छ ।
कतार इनर्जीले सम्झौताअन्तर्गत भारतका लागि सरकारी स्वामित्वको पेट्रोनेटलाई प्रतिवर्ष ७५ लाख टन एलएनजी आपूर्ति गर्ने कतारी कम्पनीले विज्ञप्तिमा जनाएको छ । कतारइनर्जीका प्रमुख कार्यकारी एवं ऊर्जामन्त्री साद अल–काबीले भने, “यो सम्झौता कतार र भारतबीच लामो समयदेखिको ऊर्जा साझेदारीमा अर्को कोसेढुङ्गा हो र यो भारतमा पहिलो एलएनजी सिपमेन्टको २०औँ वार्षिकोत्सवका अवसरमा आएको छ ।”
कतारइनर्जीको एलएनजी फ्लिटले भारतलाई ग्यासको पहिलो आपूर्ति सन् २०२८ मेदेखि गर्नेछ । “यो नयाँ सम्झौताले भारतसँगको सम्बन्ध अझ सुदृढ हुनेछ र यसको ऊर्जा मिश्रणमा प्राकृतिक ग्यासको योगदान बढाउने दृष्टिकोणलाई समथन गर्नेछ भन्ने हामीलाई विश्वास छ”, काबीले भने ।
अमेरिका, अस्ट्रेलिया र रुससँगै कतार विश्वको शीर्ष एलएनजी उत्पादकहरूमध्येको एक हो । चीन, जापान र दक्षिण कोरियाको नेतृत्वमा रहेका एसियाली मुलुकहरू कतार ग्यासका लागि प्रमुख बजार हुन् तर युक्रेनमाथि रुसको आक्रमणपछि आपूर्तिमा शङ्का भएपछि युरोपेली मुलुकहरूबाट पनि माग बढेको छ ।
गत वर्ष घोषणा गरिएको चीनको सिनोपेक, फ्रान्सको टोटल, बेलायतको शेल र इटालीको एनीसँग दीर्घकालीन कतारको ग्यास आपूर्ति सम्झौताको घोषणाको लहरपछि यो सम्झौता भएको हो । जनवरीको अन्त्यमा कतारइनर्जीले बङ्गलादेशलाई १५ वर्षसम्म प्रतिवर्ष १५ लाख टन एलएनजीको आपूर्ति गर्नका लागि अमेरिकास्थित एक्सेलरेट इनर्जीसँग सम्झौताको घोषणा गरेको थियो ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया