वैशाखमै भए पनि चुनावको सामना गर्न तयार छौं : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरू चुनावबाट भाग्न नखोजेको स्पष्ट बताएका छन् । उनले जुनसुकै समयमा चुनाव भए पनि आफूहरू त्यसको सामना गर्न तयार रहेको बताएका हुन् ।
काठमाडौंमा आयोजित एकीकृत समाजवादीनिकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भए पनि आफ्नो पार्टी सामना गर्न तयार रहेको स्पष्ट पारे ।
नेकपा (एमाले)ले गठबन्धन भत्काउने प्रयास गरिरहेको आरोप लगाउँदै उनले चुनावसम्म अहिलेको पाँच दलीय गठबन्धन कायम हुनपर्नेमा जोड दिए ।
‘हामी चुनावबाट डराएका छैनौं, तर गठबन्धन तोड्न खोज्नेहरूले अनेक भ्रम छरिरहेका छन्’, उनले भने ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने दाबी गरे ।
‘शनिबार गठबन्धनको बैठकमा सहभागी कांग्रेस नेताहरूले गठबन्धन निर्वाचनसम्म नै कायम रहने आश्वासन दिनुभएको छ’, उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवासमेत त्यसमा सकारात्मक हुनुहुन्छ ।’
प्रतिक्रिया