NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २६ गते

लागुपदार्थको नसामा सवारी चलाउने एम्बुलेन्स चालकसहित चार जना काठमाडौंमा पक्राउ

काठमाडौं । काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बा ३ च ८८२ नम्बरका एम्बुलेन्स चालक दोलखाको कालिन्चोक गाउँपालिका ३ का २५ वर्षीय सागर दर्जी, प्रदेश १–०१–००१ ख ४३ ४० नम्बरका बसका चालक सुनसरीको धरान उपमहानगरपालिका १५ का ४३ वर्षीय भोला चिमरिया, बागमती प्रदेश ०३ ००१ ख १९ ९५ नम्बरका ट्रक चालक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका १० का २४ वर्षीय प्रविण ठकुरी र ना ७ ख ९५ ८२ नम्बरका ट्रक चालक मकवानपुरको थाहा नगरपालिका १० का २५ वर्षीय निलकण्ठ थापालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गरेको हो । जसमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको ट्राफिक प्रहरी कार्यायलले जनाएको छ ।

बिरामी बोक्ने एम्बुलेन्स तथा यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम बिपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठ बताउँछन् । यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जिवन समेत जोखिममा पर्ने भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।