बेकरी व्यवसायबाट मासिक २ लाख ५० हजार आम्दानी

धरान । ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन् ।
आठ वर्षको वैदेशिक रोजगारीपछि फर्किएका धरानका एनसी राई र वीरेन्द्र थापाले यहाँ लाखौँको लगानीमा बेकरी उद्योग सञ्चालन गरेका छन् । उनीहरूले रु. १० लाख लगानीमा धरान उपमहानगरपालिका–१२ को अमान बजारमा बिस्कुट फ्याक्ट्री खोलेको उद्योग अहिले कोशी प्रदेशमा दोस्रो ‘लाइभ बेकरी’का रूपमा ब्रदर्श बेकरी स्थापित भएको उद्यमीहरू बताउँछन् ।
धरान उपमहानगरपालिका–९, गौतम पथ र धरान–१७, रेल्वे लाइनमा गरी दुई वटा शाखा सञ्चालन गरिरहेका छन् । उनीहरुले केक, आइसक्रिम, चकलेट, पाउरोटीलगायत सबै किसिमका बेकरीको व्यापार गर्दै आएका छन् । उद्योगबाट ८ जनाले रोजगारीसमेत पाएका छन् ।
कामदारलाई मासिक रु ८ हजारदेखि ३० हजारसम्म तलब दिँदै आएको उनीहरूले बताए ।
उद्यमी एनसीले आफ्नो पुर्खौली घर भोजपुरको हसनपुरबाट रोजगारीको सिलसिलामा विदेशमा लामो समय बिताएर स्वदेश फर्किएपछि व्यवसाय सुरु गरेका हुन् । उनी व्यवसायसँगै सामाजिक सङ्घसंस्थामा पनि आबद्ध छन् । हसनपुर– सुनसरी सम्पर्क मञ्च नेपालको सल्लाहकार, लायन्स क्लब धरानका क्यापेवल ट्रेजर, आशिष बचत तथा ऋण सहकारीको सञ्चालक समिति सदस्य, लड्स होम नेपालको बोर्ड समिति सदस्यसमेत हुन् । भक्तपुरका वीरेन्द्र थापा धरानमा विगत २१ वर्षदेखि बेकरी सेफका रुपमा काम गर्दै आएका छन् ।
एक समय पाउरोटी, बिस्कुट मोटरसाइकलमा लिएर सिँधुवासम्म पुग्नुपथ्र्यो तर अहिले धनकुटा, भोजपुर, पाँचथर, इटहरी, दमक, झापालगायत विदेशबाट पनि धरानेहरूले केक माग गरिरहेको राईले बताए ।
धरानमा शाखा सञ्चालनमा आएपछि उद्योगको प्रारम्भमा केक काट्ने र उत्सव मनाउने माहोल नै बनेको व्यापारी एनसी राई सुनाउँछन् । अहिले धरानमा मात्र नभएर धरान बाहिरका बेकरीका ग्राहकका लागि पनि आकर्षक बनेको छ– ब्रदर्श बेकरी ।
दसैँ, तिहार र क्रिसमसमा ५० प्रतिशत छुट र ६० वर्षभन्दा माथिकालाई सित्तैमा केक वितरण गर्दै आएको राई बताउँछन् । उनीहरूले ब्रदर्श बेकरीका तर्फबाट तालिम पनि दिँदै आएको वीरेन्द्र थापा बताउँछन् । उनीहरूसँग तालिम लिएर गएका भोजपुर, चक्रघट्टी, इटहरीलगायत धेरै स्थानका युवाले आफैं बेकरी सञ्चालन गरिरहेका थापा बताउँछन् ।
लामो समयको वैदेशिक रोजगारीबाट फर्केपछि बेकरीको सीप भएका वीरेन्द्रसँग भेट भएपछि काम थालेको राई बताउँछन् ।
धरानमा दुई शाखा सञ्चालनमा छन् भने धरानभरि जम्मा १७ वटा एशोसिएट डिलरसमेत छन् । आफूहरूले सञ्चालन गर्दै आएको ब्रदर्स बेकरी उद्योगबाट आफ्नो सबै खर्च कटाएर मासिक रु. दुईदेखि दुई लाख ५० हजारसम्म बचत हुने गरेको राईले सुनाए ।
ब्रदर्स बेकरी अहिले सीप सिक्न चाहनेका लागि उपयुक्त थलो बनेको छ । उद्यमी राई भन्छन्, “मिहिनेत आवश्यक छ, देशमा अवसर छैन भन्न मिल्दैन । विदेश पलायन हुनुभन्दा आफ्नै ठाउँमा मेहनत गर्दा प्रतिफल प्राप्त हुन्छ ।”
ताजा अपडेट
-
हप्ता दिनभित्र सूचीकृत नभए ‘मेटा’ बन्द गर्छौंः मन्त्री गुरुङ
-
सरकार परिवर्तन कसैले चलाएको हल्ला हो : परराष्ट्रमन्त्री डा राणा
-
गाजामा खाद्यान्न, इन्धन र खोपको अभाव
-
भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल
-
विष सेवनबाट तीन बालबालिकाको मृत्यपश्चात् आमाको पनि निधन
प्रतिक्रिया