बङ्गलादेशमा सरकारी जागिरका लागि कोटा प्रणालीको विरोधमा विद्यार्थी

एजेन्सी । बङ्गलादेशको राजधानी ढाका र देशका अन्य स्थानका विद्याथी सरकारी जागिरमा दिइएको कोटा प्रणालीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् ।
विद्यार्थीहरूले बिहीबार देशभरका व्यस्त चोकहरूमा प्रदर्शन गर्दै चौथो दिन पनि यातायात अवरुद्ध पारेका छन् भने उनीहरूले ५६ प्रतिशत कोटा दिने सरकारी रोजगार नीतिमा सुधारको माग गरेका छन् ।
बिहीबार बिहानदेखि सुरु भएको दिनभरको आन्दोलन साँझसम्म चलेको थियो । नाकाबन्दीले विशेषगरी देशभरका कलेज र विश्वविद्यालय वरपरका क्षेत्रमा ट्राफिक जाम भएको छ ।
ढाका विश्वविद्यालयका विद्यार्थी तथा आन्दोलनका आयोजक नाहिद इस्लामले ढाकामा आयोजित पत्रकार सम्मेलनमा भने, “यस कार्यक्रमअन्तर्गत बिहीबार देशभरका सबै राजमार्ग र रेलमार्ग अवरुद्ध गरिएको र आफूहरूको माग पूरा नभएसम्म ‘बङ्गला नाकावन्दी’ जारी रहनेछ ।”
आन्दोलनरत विद्यार्थीले सबै सरकारी जागिरमा विभेदकारी कोटा प्रणाली अन्त्य गर्नुपर्ने र संविधानबमोजिम पिछडिएको वर्गका लागि उचित तहमा कोटा कायम हुनुपर्ने माग गरेका छन् ।
हप्तौंलामो विरोध प्रदर्शनपछि सन् २०१८ मा रोकिएको यो प्रणालीलाई गत महिना छुट्टै अदालतले पुनस्र्थापित गरेको थियो । जुलाईको सुरुमा सर्वोच्च अदालतले सरकारी जागिरका लागि कोटा प्रणालीलाई पुनस्र्थापित गर्ने निर्णय गरेपछि विद्यार्थीहरूको नेतृत्वमा प्रदर्शनहरू फेरि सुरू भएका हुन् ।
विद्यमान सरकारी भर्ती प्रणाली अन्तर्गत सरकारी पदहरूको प्रवेशका लागि हुने परीक्षामा ५६ प्रतिशत विशिष्ट ‘हकदार’ वर्गहरूको लागि आरक्षित गरिएको थियो ।
सन् १९७२ मा लागू गरिएको कोटा प्रणालीमा सुधारको माग गर्दै विश्वविद्यालयका विद्यार्थी र रोजगारका आकाङ्क्षीहरूले गरेको प्रदर्शनपछि सन् २०१८ मा सरकारले सार्वजनिक सेवामा सबै ५६ प्रतिशत कोटा खारेज गर्ने परिपत्र जारी गरेको थियो ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया