कुलमानलाई हटाउने ओलीको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने तयारी गरेका छन् । आफ्नो निर्देशन नमानेको भन्दै उनले घिसिङलाई राजीनामा दिन दबाब दिएका छन् ।
स्रोतका अनुसार राजीनामा नदिए हटाउने संकेत ओलीले दिएका छन् । पछिल्लो समय डेडिकेटेड तथा ट्रंकलाइनको महशुस विवादमा ओली र घिसिङको फरक मत छ । ओलीले महशुल नतिर्ने उद्योगमा लाइन जोड्न घिसिङलाई दबाब दिएका थिए । तर, उनले यसका लागि औपचारिक निर्णय मागेर विलम्ब गरेका छन् ।
लोडसेडिङको बेलामा केही उद्योगले निरन्तर बिद्युत प्रयोग गरेका थिए । तर, त्यसको महशुल नतिर्न लबिइङ गर्दै आएका छन् । ती कम्पनीहरुले प्राधिकरणलाई करिब आठ अर्ब महशुल तिर्नुपर्ने हुन्छ । तर, उनीहरु लबिइङ गरेर नतिर्ने रणनीतिमा छन् । ती व्यापारीलाई ओलीले समेत साथ दिएका छन् । तर, जसरी पनि महशुल उठाउने घिसिङको रणनीति छ ।
आइतबार संसदमा बोल्ने क्रममा पनि ओलीले घिसिङको आलोचना गर्दै व्यापारीको पक्ष लिएका थिए । उनले भने, ‘प्राधिकरणका एमडीले महालेखा परीक्षकको कार्यालय, संसदीय समितिमा यति उठाउनु छ भनी लेखिपठाए अब कहाँ फेरबदल गर्न सकिन्छ । गलत हिसाब पठाएर फेरबदल गर्न सकिँदैन भनेर तिर्न नपर्ने महशुल असुल गर्न त सकिँदैन होला नि!’
देशलाई लोडसेडिङबाट मुक्त गराएका घिसिङलाई तत्काल हटाइहाल्दा जनआक्रोश बढ्न सक्ने भएकाले दबाब दिएर राजीनामा दिन लगाउने ओलीको रणनीति छ । प्राधिकरणमा घिसिङको कार्यकाल करिब एक वर्ष बाँकी छ ।
प्रतिक्रिया