NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

सातै प्रदेशका केही स्थानमा आज भारी वर्षा

काठमाडौं । मनसुनी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । केही स्थानमा दिउँसो तथा रातिको समयमा भारी वर्षा हुनसक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन सुझाएको छ ।

महाशाखाका अनुसार अहिले मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसोको समयमा सातै प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण मौसमविदले गरेका छन् । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मंगलबार दिउँसो भारी वर्षाको आकलन गरिएको हो ।

रातिको समयमा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने अनुमान मौसमविदले गरेका छन् ।