अदालतको आदेशलगत्तै रवि पक्राउ, भैरहवा लगियो

काठमाडौं । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दाका आरोपी रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ ।
इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको उच्च अदालत तुलसीपुर, बुटवलका इजलासका उपरजिस्ट्रार हरिगोपाल ज्ञवालीले जानकारी दिए ।
यसअघि रू एक करोड धरौटीमा छाड्ने जिल्ला अदालत रूपन्देहीको आदेशलाई उच्च अदालतले बदर गरेको हो ।
यसैबीच, अदालतको आदेशलगत्तै प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेत नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।
लामिछानेलाई काठमाडौंको बूढानीलकण्ठस्थित हेपाली हाइटबाट नियन्त्रणमा लिइएको हो ।
रास्वपाले पक्राउ पुर्जीविनै लामिछानेलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । भर्चुअल माध्यमबाट सचिवालय बैठक बस्दै रास्वपाले यो क्षम्य नहुने जनाएको छ ।
शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई अहिले भैरहवा पु-याइएको छ । यती एअरलाइन्सको विमानमार्फत उनलाई शनिबार बिहान भैरहवा लगिएको हो । आज र भोलि बिदा परेकाले अब सोमबार उनलाई अदालतमा उपस्थित गराइनेछ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया