ट्रम्पले सार्वजनिक गरे गोल्ड कार्ड भिसा योजना, १० लाख डलर तिरेर अमेरिका जान पाइने
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी धनी व्यक्तिहरूलाई लक्षित गर्दै कम्तीमा १० लाख डलर तिर्नेहरूमात्रलाई छिटो प्रक्रियाबाट अमेरिका प्रवेश भिसा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत ट्रम्पले उक्त कार्डले योग्य र परीक्षण प्रक्रिया पूरा गरेका व्यक्तिलाई ‘नागरिकताका लागि प्रत्यक्ष मार्ग’ उपलब्ध गराउने दाबी गरे । ‘यो अत्यन्तै रोमाञ्चक छ ! अब हाम्रा उत्कृष्ट अमेरिकी कम्पनीहरूले आफ्नो मूल्यवान प्रतिभा जोगाउन सक्नेछन्,’ ट्रम्पले लेखे ।
यस वर्षको सुरुमा घोषणा गरिएको ट्रम्प गोल्ड कार्ड कार्यक्रमका अनुसार यो भिसा त्यस्ता व्यक्तिहरूलाई दिइनेछ, जसले अमेरिका महत्त्वपूर्ण रूपमा लाभान्वित गर्ने क्षमताको प्रमाण पेस गर्न सक्छन् ।
यसैबीच, वासिङ्टनले अवैध आप्रवासीहरूलाई देशनिकाला गर्ने, कार्य भिसा शुल्क बढाउनेलगायतका कठोर आप्रवासन नीतिहरू थप कडाइका साथ कार्यान्वयन गरिरहेको छ ।
कार्यक्रमका अनुसार गोल्ड कार्डले ‘रेकर्ड समय’भित्र अमेरिकामा बसोबासको अनुमति दिनेछ । आवेदनका लागि १० लाख डलरको शुल्क तिर्नुपर्छ, जुन रकम स्वयम् अमेरिका लाभान्वित हुने प्रमाणको रूपमा लिइनेछ । विदेशी कामदारलाई प्रायोजित गर्ने कम्पनीहरूले भने २० लाख डलर तिर्नुपर्नेछ । साथै, ५० लाख डलर तिरेर ‘प्लाटिनम’ कार्डसमेत प्राप्त गर्न सकिनेछ, जसले विशेष कर सुविधा दिने बताइएको छ ।
प्रत्येक आवेदकको अवस्थाअनुसार थप सरकारी शुल्क पनि लाग्न सक्नेछ । आवेदन सुरु हुनुअघि मात्र १५ हजार डलर नफर्काइने प्रक्रिया शुल्क अनिवार्य रूपमा तिर्नुपर्छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया