NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

ललितपुरमा गठबन्धन एमालेभन्दा ११ हजार ९८७ मतले अगाडि, चिरिबाबु र हरिकृष्णबीच कसले मार्ला बाजी ?

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन मिति नजिकिंदै गर्दा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । आफ्ना उम्मेदवारलाई जिताउन राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू घरदैलो अभियानमा रहेका छन् । ७५३ स्थानीय तहमा नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनमा यसपटक मुख्यतः सत्तागठबन्धन र प्रतिपक्षी एमालेबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ ।

गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा चार दलबीच भागबण्डा गरेको छ । एमालेले भरतपुर र वीरगञ्जलगायत केही ठाउँमा राप्रपा र लोसपासँग चुनावी तालमेल गरेको छ ।

राजधानी उपत्यकामा रहेको ललितपुर महानगरपालिकामा पनि विस्तारै चुनावी चहलपहल सुरू भएको छ । ललितपुरमा विगतको नतिजा र भावी परिणाम कस्तो हुन सक्ला भन्ने आकलन अड्कलबाजी चोक–चोकमा भइरहेको छ । अन्य महानगरमा जस्तै यहाँ पनि गठबन्धन भर्सेस एमालेबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ ।

ललितपुरमा गठबन्धन र एमालेले पुरानै चिरपरिचित अनुहार चिरिबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारलाई चुनावी मैदानमा उतारेको छ । गत निर्वाचनमा झिनो मतान्तरले विजयी भएका महर्जनलाई यसपटक माओवादी, जसपा, एकीकृत समाजवादी र राजमोले समर्थन गरेका छन् । एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएको छ ।

त्यस्तै उपमेयरमा गठबन्धनबाट माओवादीले बाबुराजा बज्राचार्यलाई उम्मेदवार बनाएको छ । एमालेले माओवादी पृष्ठभूमिकी मञ्जली शाक्यलाई उपमेयरको उम्मेदवार बनाएको छ । यी दुवै नयाँ अनुहार हुन् ।

०७४ को नतिजालाई फर्केर हेर्दा

०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिकाको प्रमुख (मेयर)मा कांग्रेसका चिरीबाबु महर्जन ३२६ मतको झिनो मतान्तरले विजयी भएका थिए । महर्जनले २४ हजार ६ सय ४२ मत ल्याए भने राप्रपासँगको तालमेलमा उम्मेदवार बनेका नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकारले २४ हजार तीन सय १६ मत पाए । स्वतन्त्र उम्मेदवारी दिएका साझा पार्टीका रमेश महर्जनले नेकपा (माओवादी केन्द्र)का उम्मेदवारलाई पछि पारे । गरगहनाको व्यवसाय गर्ने रमेशले १३ हजार चार सय ५८ मत ल्याउँदा माओवादीका उम्मेदवार दिनेश महर्जनले १० हजार ६ सय ६१ मत पाए ।

महानगरको उपप्रमुख (उपमेयर)मा पनि कांग्रेसकै गीता सत्याल १९ हजार आठ सय १९ मत प्राप्त गरी विजयी भइन् । उपमेयरमा साझा पार्टीकी शोभा शाक्य १४ हजार दुई सय ४० मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बनिन् । कडा प्रतिस्पर्धाबीच कांग्रेसले मेयर र उपमेयरमा बाजी मारे पनि साझा पार्टीले पाएको मतले ललितपुर चर्चामा रह्यो । उपमेयर एमालेले राप्रपालाई दिएको थियो । तर, राप्रपाका उम्मेदवार बाबुकाजी प्रधान १० हजार पाँच सय ४० मत ल्याएर चौथो स्थानमा आए । उनीभन्दा अगाडि माओवादीका उम्मेदवार हसिना शाक्यले १२ हजार नौ सय ७९ मत ल्याइन् । तत्कालीन नयाँ शक्तिका सजनी महर्जनले पनि एक हजार तीन सय ८० मत पाइन् ।

मेयर र उपमेयर गुमाए पनि वडामा भने एमालेले बढी स्थान जित्यो । कुल २९ वडामध्ये १४ वटा वडामा एमालेका अध्यक्ष निर्वाचित भए । कांग्रेसले १० वटा वडा जित्यो । एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भए । एमालेले २, ३, ४, ५, ११, १२, १५, १७, १८, १९, २०, २३, २४, २५ र २९ नम्बर वडामा चुनाव जित्न सफल भयो । कांग्रेसले १, ६, ७, ८, ९, १३, १४, १६, २० र २७ नम्बर वडा जित्यो । माओवादीले भने २१, २२, २६ र २८ नम्बर वडामा वर्चस्व कायम ग¥यो । १० नम्बर वडामा स्वतन्त्र उम्मेदवार विजयी भए । अधिकांश वडामा पनि कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखियो । माओवादीले एउटा वडा दुई मतको अन्तरले मात्रै जितेको थियो ।

भावी परिणामको आकलन

पाँच वर्षमा राजनीतिक रूपमा धेरै परिवर्तन भइसकेको छ । गत निर्वाचनमा धेरै स्थानीय तहमा कांग्रेस र माओवादीबीच समीकरण बनेको थियो । तर, ललितपुरमा भने एक्लै लडेर पनि कांग्रेस विजयी भयो । यसपटक पाँच दलीय गठबन्धनको साझा उम्मेदवारको रूपमा कांग्रेसले महर्जनलाई दोहोर्याएको छ । गत निर्वाचनमा राप्रपासँग तालमेल गरेको एमाले यसपटक एक्लै प्रतिस्पर्धामा छ ।

संसद्को सबैभन्दा ठूलो दल एमाले भएपनि अहिले विभाजित भएको छ । ललितपुरमा राम्रै मत ल्याएको साझा पार्टीको अवस्था पनि अहिले पहिलेको जस्तो छैन । पार्टी पनि टुटफुट र विवादबाट अघि बढेको छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता भएको छ । राप्रपा पनि फुटेर कमल थापाको नेतृत्वमा राप्रपा नेपाल बनेको छ ।

संघीय सरकारमा अहिले गठबन्धनको सरकार छ । स्थानीय तह निर्वाचनमा पनि गठबन्धन भएकाले ललितपुरमा एमाले संकटमा पर्ने देखिन्छ । किनकि, विगतको मतपरिणाम हेर्दा पनि कांग्रेस र माओवादी मिल्दा अत्याधिक मत भएको छ । यसबीचमा एमाले विभाजनपछि माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बनेको छ । यो पार्टीले पनि एमालेका केही हजार मत लैजाने अनुमान गरिएको छ । तर, बढेका मतदातामध्ये धेरैले कता साथ दिन्छन् भन्ने अझै स्पष्ट भइसकेको छैन ।

चुनाव जितेर पनि उल्लेख्य काम गर्न नसकेकाले कांग्रेसलाई विगतको मत कायम राख्न भने मुस्किल छ । विगतकै मतका आधारमा हेर्दा यदि संघीय सरकारमा जस्तै कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीबीच तालमेल भएकाले ललितपुर एमालेका लागि फलामको चिउराजस्तै हुन सक्छ ।

त्यसबाहेक विगतमा भन्दा जनाधार बढेको र विवेकशील साझा पार्टी निकै कमजोर देखिएकाले उसका धेरै भोट पनि आफूले पाउन सक्ने एमालेको आकलन छ । माधव नेपालले नयाँ पार्टी बनाए पनि नेता–कार्यकर्ताको ठूलो हिस्सा एमालेमै छ । त्यसले एमालेलाई कति असर गर्छ अहिले नै आकलन गर्न कठिन छ । तर प्रतिस्पर्धी दलमा आएको विभाजन ललितपुरजस्तो स्थानमा कांग्रेसका लागि फाइदाजनक हुन सक्छ । त्यसबाहेक एमालेसँग तालमेल गरेको राप्रपा पनि विभाजन हुनु कांग्रेसका लागि थप सहज अवस्था हो ।

महानगरमा ०७४ को चुनावमा एक लाख १२ हजार नौ सय २२ मतदाता थिए । ती मध्ये विगतमा कांग्रेसले पाएको मतमा माओवादीको मत जोड्दा ३५ हजार ३०३ हुन आउँछ । बाबुराम भट्टराई नेतृत्वको नयाँशक्तिले पाएको मत एक हजारको हाराहारीमा रहेको छ । नयाँशक्तिले पाएको मतसमेत जोड्दा पुरानै अंकको आधारमा महर्जनको मत ३६ हजार ३०३ हुन आउँछ । गठबन्धनको उम्मेदवार र एमालेको उम्मेदवारबीचको मतान्तर ११ हजार ९८७ रहेको छ । अहिले थपिएका दसौँ हजार नयाँ मतदाता पनि चुनावमा निर्णायक बन्न सक्नेछन् । यसबाहेक दलहरूले छानेको उम्मेदवारले पनि ठूलो अर्थ राख्छ । नेवार समुदाय बाहुल्य रहेको ललितपुरमा जातिगत अवस्थाले पनि परिणाम तलमाथि हुन सक्छ ।

नेवार समुदायमा पनि महर्जनको संख्या महानगरमा अत्याधिक छ । त्यसैले गत चुनावमा मेयरमा पाँचजना महर्जन उम्मेदवार थिए । तर एमालेले भने ब्यञ्जनकारलाई उम्मेदवार बनाएपछि केही मत चिरिबाबुतिर गएको विश्लेषण गरिएको थियो । आगामी निर्वाचनमा पनि महर्जनको मत चिरिबाबुतिर जानसक्ने अनुमान गरेका छन् ।