NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

महानगरहरूको चुनाव परिचालनमा एमालेले खटायो केन्द्रीय पदाधिकारी

काठमाडौं । आफ्नो पक्षमा नतिजा ल्याउने रणनीतिसहित एमालेले केन्द्रीय पदाधिकारीलाई महानगरहरूको चुनावी कमान्डरका रूपमा खटाएको छ । एमाले राप्रपा नेपाल, लोसपा र परिवार दलसँग तालमेल गरेर चुनावी मैदानमा उत्रिएको छ । भरतपुरमा राप्रपासँग पनि गठबन्धन गरेको छ ।

सत्तागठबन्धनले चुनावी तालमेल गरेर निर्वाचनमा होमिएपछि दबाबमा आएको एमालेले महानगरपालिकाहरूको चुनावी परिचालन प्रभावकारी बनाउन वरिष्ठ उपाध्यक्षसहितका पदाधिकारीलाई संयोजनको जिम्मेवारी दिएको हो । निर्वाचनमा नेता–कार्यकर्ताको प्रभावकारी परिचालनका लागि विभिन्न महानगरमा पदाधिकारी संयोजनमा खटिएका छन् । समग्र चुनावी परिचालन अध्यक्ष केपी ओली आफैँले हेरेका छन् ।

एमालेले पछिल्लो केन्द्रीय कमिटी बैठकमार्फत पदाधिकारी, स्थायी समिति र केन्द्रीय कमिटीका सदस्य उम्मेदवारको मनोनयनलगत्तै आफ्नै जिल्लामा खटिने निर्णय गरेको थियो । एमालेले काठमाडौंसहित ६ वटै महानगरको निर्वाचन परिचालन निर्देशक समिति सक्रिय पारेको छ ।

अध्यक्ष ओलीको निर्देशनअनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ‘काठमाडौं महानगर निर्वाचन परिचालन निर्देशक समिति’को संयोजक बनेका छन् । त्यसअनुसार नै पोखरेलले काठमाडौं महानगर निर्वाचन परिचालनको कमान्ड सम्हालेका हुन् । उनी काठमाडौं ५ बाट निर्वाचित संघीय सांसदसमेत हुन् ।

त्यस्तै, ललितपुर महानगरको निर्वाचन परिचालनलाई प्रभावकारी बनाउन अध्यक्ष ओलीको निर्देशनअनुसार उपमहासचिव प्रदीप ज्ञवाली संयोजनमा खटिएका छन् । उनी ललितपुर महानगरको चुनावी परिचालनसम्बन्धी बैठकमा तीनपटक सहभागी भइसकेका छन् ।

भरतपुरमा उपाध्यक्ष सुरेन्द्र पाण्डेले चुनावी अनुगमनको नेतृत्व गरिरहेका छन् । निर्वाचन परिचालनको नेतृत्व भने स्थायी समिति सदस्य तथा बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीले पाएका छन् । भरतपुरमा एमालेले राप्रपा नेपालसँग तालमेल गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।