NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

ज्युँदै मानिस जलाएको अभियोग लागेका आलमका पुत्र बाबुका बिडो थाम्ने घोषणासहित चुनावमा

काठमाडौं । चिकित्सा शिक्षामा स्नातक (एमबीबीएस) सकेर भारतको नयाँदिल्लीमा काम गरिरहेका २७ वर्षीय मो. राजिक आलम रौतहटको राजपुर नगरपालिका प्रमुखमा उम्मेदवार बनेका छन् । कांग्रेसले बहालवाला मेयरलाई पन्छाएर राजिकलाई टिकट दिएको छ तर उनको परिचय यतिमा सीमित छैन ।

उनी ०६४ को संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा बम बनाइरहेका बेला विस्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा हालेर ज्यान लिएको अभियोगमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका सांसद मो. अफताब आलमका कान्छा छोरा हुन् । राजिक भन्छन्, ‘मेरो परिचयमा बुबालाई छुटाउन मिल्दैन । हजुरबुबादेखिको पारिवारिक विरासत थाम्न बुबाको पदचाप पछ्याउँदै राजनीतिमा आएको छु ।’

राजिकका काका हजुरबुबा शेख इद्रिसले रौतहटबाट २०४८ र २०५१ को चुनाव जितेका थिए । २०५३ सालमा उनको मृत्युपछिको उपनिर्वाचनमा अफताब आलम निर्वाचित भए । २०६४ र २०७४ को चुनाव जितेका आलम मन्त्री पनि बने । तर फौजदारी मुद्दा चलाइएपछि उनी प्रतिनिधिसभा सदस्यबाट निलम्बित छन् ।

संविधानसभा निर्वाचनको अघिल्लो साँझ २०६४ चैत २७ मा विस्फोट भएको थियो । कांग्रेसका तत्कालीन जिल्ला सभापति अफताबले चुनावमा कब्जा गर्न बम बनाउन लगाएको र विस्फोट ढाकछोप गर्न घाइतेलाई जलाएको अभियोग छ । उक्त घटनामा श्रीनारायण सिंहका छोरा २२ वर्षीय पिन्टु भनिने त्रिलोकप्रताप र २३ वर्षीय वसी अख्तर मियाँ मारिएको भनेर परिवारजनले नै बयान दिएका थिए । अरू २१ जना भारतीय नागरिक मारिएको आशंका छ तर उनीहरूको नाम, ठेगाना खुलेको छैन । राजिक भने आफ्ना बाबुमाथि लागेका अभियोगलाई परिवारविरुद्धको षड्यन्त्र भन्छन् । ‘हामीमाथि षड्यन्त्र भएको हो तर म र परिवारप्रति नगरवासीको विश्वास छ । कांग्रेस नेताका रूपमा बुबाले सिंगो जिल्लालाई नेतृत्व दिनुभएको थियो । यो नगरपालिकालाई नमुना बनाउन नगरवासीले मलाई नेतृत्वको अवसर दिनु हुनेछ भन्ने विश्वास छ,’ उनले भने ।

राजपुरको मेयरमा यसअघि कांग्रेसका सकिल मियाँले जितेका थिए । राजिककै काका सकिल यस पटक पनि आकांक्षी थिए । तर पार्टीले पन्छाएपछि उनी एमालेमा प्रवेश गरेका थिए । एमालेले उनलाई मेयरको टिकट पनि दिएको थियो तर वडाध्यक्षका उम्मेदवार छान्न नपाएको भन्दै उनले चुनाव नलड्ने घोषणा गरेका छन् । सकिलका भाइ शेख वकिल माओवादी केन्द्रबाट उम्मेदवार बनेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।