अब घरमै बसेर कोरोना परीक्षण गर्न सकिने : ‘सेल्फ टेस्ट किट’ ले पायो मान्यता

काठमाडौं । कोरोना संक्रमणको परीक्षण अब घरमै बसेर गर्न सकिने भएको छ । ‘र्यापिड सेल्फ टेस्ट किट’ को माध्यमबाट कोरोना संक्रमणको परीक्षण गर्न सकिने भएको हो । अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडीए)ले ‘सेल्फ टेस्ट किट’ लाई मान्यता दिएको छ । यसको प्रयोगबाट अब कोरोना परीक्षण गर्न प्रयोगशाला धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । ल्युसिरा हेल्थ कम्पनीले उत्पादन गरेको यो किटलाई मंगलबार एफडीएले मान्यता दिएको हो । यो किटबाट परीक्षण गरेको ३० मिनेटमै नतिजा प्राप्त गर्न सकिनेछ । यो किट एक पटकमा एक जनाले मात्र प्रयोग गर्न सक्नेछन् । १४ वर्षभन्दा माथिको उमेरका मानिसहरूले आफैं र त्यसभन्दा कम उमेरकाले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा यो किटको प्रयोग गर्न सक्छन् । यस किट प्रयोग गर्दा व्यक्ति आफैंले नाकबाट ‘स्वाब’ लिन सक्नेछन् । कम्पनीका अनुसार यो किटले ९४ प्रतिशतसम्म सकारात्मक नतिजा प्रदान गर्नेछ । मोलिक्युलर एम्प्लिफायर प्रविधिको प्रयोग गरिएको यो किट विश्वकै पहिलो र्यापिड कोरोना टेस्ट किट रहेको दावी कम्पनीले गरेको छ । मोलिक्युलर एम्प्लिफायर प्रविधिले कोरोना भाइरसको अणुवांशिक तत्वको जानकारी दिन्छ । यो किट एन्टीजेन परीक्षण भन्दा विश्वासिलो रहेको एफडीएको भनाइ छ । ‘कोभिड–१९ को परीक्षण घरमै बसेर गर्न सकियोस् भनेर यो किट तयार पारिएको हो,’ एफडीएका कमिस्नर स्टेफन ह्यानले भने, ‘यो पहिलो किट हो, जसलाई घरमै पनि प्रयोग गरेर नतिजा थाहा पाउन सकिन्छ ।’ कम्पनीको वेभसाइटमा उल्लेख भए अनुसार यसको मूल्य पचास डलर भन्दा कम पर्छ ।
प्रतिक्रिया